मानवता बिनाको आजको संस्कृति धर्म र समाज !



✍️केशर मल्ल
संस्कृति जोगाउन मान्छे मार्नु पर्ने समय आएको होत ? कुन शताब्दीमा छौ हामी जहाँ जीवन रक्षा गर्ने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी नै हरेक दिन कुटिनु,अपमानित बहिष्कार हुनुपरेको छ ! यिनीहरुलाई कुन पापको परिणाम दिदैछौ जस्ले आजसम्म मानवका लागि आफ्नो जीवन नै अर्पण गरिरहेका छन् ? जहाँ मानवता हुँदैन त्यहाँ धर्म हुन्छ र ! जहाँ धर्म हुँदैन त्यहाँ मानव हुन सम्भव छ र !

काठमाडौ उपत्यका आफैमा आजभोलि जति बाहिरबाट कुरुप देखिँदैछ त्यो भन्दा पनि बढी मान्छेका अमानवीय व्यवहार,हत्याहिंसा,छुवाछुत जस्ता कयौ घिनलाग्दा प्रवृतिले कूरूप हुदै गएको छ… काठमाडौँ मानवता हराएको सहर हुदै गएको छ। रथको जात्रा हो कि रगतको जात्रा ! विश्व कोरोनाको त्रासले स्तब्ध भइरहेकै अवस्थामा हजारौं मानिसको हुल जताततै छ ! कोरोना हराएझैँ मानिसहरु एकातिर नाचगान गरिरहेकाअर्कातिर सुरक्षाकर्मीहरु सुरक्षा दिन लागिरहेका छन् ।

केही समयपश्चात् ढुङगामुडासङै हानाहान सुरु हुन्छ । एकजनालाई सक्दो सयौंले कुटेपछी हालत के होला ।अरु भलाद्मीहरु भजन गाएको जसरी आखा चिम्लिरहेका हुन्छन् । कतिको टाउकोमा लाग्छ,कतिको खुट्टामा लाग्छ तर कति के भयो कुनै मतलब नै हुदैन किनकी त्यहाँ मानवको होइन दानवको युद्ध रगत जात्रा भइरहेको हुन्छ ।आफ्नै दाजुभाइ कुटिन्छ्न ,घाइते हुन्छन् .. भगवानका मन्दिरहरु जताततै हुन्छन् तर मानवता भएको भगवान कोहि देखिदैनन । कोही कसैलाई सुन्न र बुझ्न तयार हुदैनन बरु मार्न र मर्न तयार हुन्छन् । एकले अर्कालाई दबाउन खोज्छन्, आफैंलाई बलियो देखाउन लागिरहेका हुन्छन । एकैछिनमा शान्त भुमि रगत भुमि मा रुपान्तरण हुनपुग्छ… ।

प्राय यस्ता दृश्यहरु कि त ढुङ्गे युगमा सुनिन्थ्यो कि काल्पनिक रुपमा फिल्ममा देख्न र सुन्न पाइन्छ तर यि दृश्यहरु भने न काल्पनिक हुन न त फिल्मको नै हुन् । यो वास्तविक घटना भने हाम्रो देशको राजधानी काठमाडौंको हो । सुन्दा र हेर्दा कहालीलाग्दो देखिन्छ । अचम्म हुनुपर्ने कारण त होइन तर सभ्य, सुन्दर र सुरक्षित देशको एकमात्र राजधानी मा नै यस्तो अप्रत्याशित घटना देख्दा र सुन्दा भने मुटु कापेर आउँछ मानौं कि अब बाँच्ने ठाउँ कहि पनि छैन र कोहि पनि छैन । काठमाडौँ मानव र मानवताको शहर हो भन्ने कुरा एकादेशको कथा झैँ लाग्न थालेको छ ! यथार्थमा काठमाडौँ मानवता नै हराएको शहर हुँदै गएको छ। धर्मको नाममा ढुङ्गा पुझ्न थालेको शहरले मान्छे चिन्न छोडेको छ । अब यस्ता घटनाहरु सायदै नसुनेको दिन होला । लाग्दैछ कि मान्छे कुटपिट गर्नु , मान्छे मार्नु सबैभन्दा सानो र सजिलो काम हो । मानव विवेकशील प्राणी हो भन्ने भन्ने कुरामा आशंका पैदा भएको छ। काठमाडौंमा बसेका मान्छेले सन्सार बुझेका छन् भनेर गर्व महसुस हुन्थ्यो तर आज घृणा महसुस भएको छ ।

कहिले स्वास्थ्यकर्मी लुटिन्छन्, कहिले सुरक्षाकर्मीको मारिन्छन् वास्तवमा हामी छौँ कहाँ ? हामिलाई निस्वार्थ बचाउन लागिपरेका मानिसहरु प्रति यसरी मरण हुनेगरी जाइ लाग्नु कस्तो मानवता हो ,कस्तो प्रवृत्ति हो, कस्तो विवेक हो ? हिजोसम्म कोरोनाले मान्छेलाई चिन्न छोडेको थियो आज आएर मान्छेले मान्छेलाई नै चिन्न छोडेका छ्न । अब साच्चै के कोरोनाको डरभन्दा मानवीय ब्यवहारको डर बढी भएकै हो त ? मानवता भन्ने कुरा मानव मस्तिष्कबाट हराएकै हो त? स्वरुप भने मान्छेको चरित्र भने जनावरको रहेको अर्ध मानव भन्दा फरक नपर्ला ।

देश र जनताको निम्ति आफ्नो जिउ ज्यानलाई जोखिममा राखेर दिन रात सुरक्षामा लागी परेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीमाथी नै अभद्र , हिंस्रक,अमानवीय घटना भइरहँदा देश सभ्य हुन सक्तैन ।देशको उच्च नेतृत्वले जे भने त्यहीँ मान्ने एक ईमानदार प्रहरीहरु माथी जाईलाग्नुमा हामी खुशी मान्छौ । उनिहरुको मन हुँदैन भनेझैं मन्पर्दी बोल्छौ ।अनि ठुलो आवाजमा हामी मिडियामा भन्छौ – प्रहरीहरुले हामिलाई कुटे,जबर्जस्ती गरे । कहिले आफन्त कुटिन्छ्न,कहिले आमा लुटिन्छ्न,कहिले स्वास्थ्यकर्मी लखेटिन्छ्न,कहिले सुरक्षाकर्मी मारिन्छ्न । कतै आजको मानव समाज आफ्नो अस्तित्व गुमाउन तिर लागेको त होइन । आफूलाई सामाजिक प्राणी हो भनेर चिन्न छोडेको त होइन ! दिनप्रतिदिन यस्ता राक्षसि स्वभावका घटनाहरु घटिरहने हो भने मानिस र जनावर बिचमा फरक के नै होला र ।

यस्तो विषम परिस्थितिमा पनि हाम्रै सेवामा खटिएका पुलिस प्रहरी माथी हातपात गर्ने हामी मान्छे नै हौ त ! मान्छेले मान्छेलाई मार्न लाग्दा ट्वाल्ल परेर बसिरहेका हामी रमितेहरुलाई अरु कुनै जात्रा भने भेटिएन । कोहि मान्छे मर्दा दर्द मान्नु पर्ने मानवीय स्वभाव हराएको छ भन्ने उदाहरण प्रष्ट देखिन्छ ।सिंगो देशको राजधानीमै पढेलेखेका सभ्य समाजमा रहेका विवेकशील देखिएका देशको नेतृत्व गर्न सक्ने क्षमता भएका युवाहरूकै हातबाट रक्ताम्मे हुनेगरी देशको सुरक्षाकर्मी नै कुट्नु कतिसम्म निन्दनीय वा सराहनीय काम हुनसक्छ ? सबैकुराले सम्पन्न सहरमा बस्ने मान्छेहरु बाटै यस्तो तुच्छ चर्तिकला दिन प्रतिदिन घट्दै जाँदा अरु समुदायका अवस्था कस्तो होला ? देशको अभिभावकझै सभ्य कहलिएका व्यक्तिहरु बाटै यस्तो अमानवीय व्यवहार देखिँदा अबका युवाहरु र नयाँ पुस्ताले कस्तो शिक्षा सिक्न सक्छन् भनेर आशा गर्ने !

कोरोनाको मारमा कुनै काठमाडौ उपत्यकाका मात्र परेको छैन ! सिंगो नेपालका मानिसहरु परेका छन्। सिंगो संसार नै आज ठप्प छ । यी सबै कुरा थाहा हुँदाहुँदा पनि जबर्जस्ती जात्रा गर्नुपर्ने कत्तिको बुद्धिमानी हो , के रथ जात्रा यो वर्ष नहुँदा सबै कुरा समाप्त हुने हो? कतै यो वर्ष बाच्न पाइँदैन कि भन्ने हो ? कि कोरोना भन्दा हामी शक्तिशाली छौ भन्ने दे देखाउन हो ? यही कारणले मानवता बिना मान्छेको स्वास्थ्य भन्दा ठुलो धन हो भन्ने कुरालाई आत्मसात गर्नुपर्ने अवस्थामा खुल्लमखुल्ला हुल बनाएर यसरी निषेधाज्ञा लाई अवज्ञा गर्नु के राष्ट्र प्रति जिम्मेवार बन्नु हो ? रक्षक नै भक्षक भएपछि अरु कुरा केको नै गर्न सकिन्छ र ? सिङ्गो देश र हामी बाँचे भोलिका दिनमा मज्जाले जति सकिन्छ जात्रा गर्न सकिन्छ । सभ्य समाजका सभ्य नागरिकले आफ्नो कर्तव्यलाई कहिले पनि बिर्सनुहुँदैन। यदि कोही कसैलाई कोरोना लागिहाल्यो भने सिंगो जिल्ला र देश संक्रमण हुन पुग्छ र यसको जिम्मा कसले लिन सक्छ ? यतातिर सबै भन्दा बढी ध्यान दिनुपर्ने हो तर कसैले दिएका देखिदैन !

कोरोना सरकार को उदासिन ब्यवहारले मात्र होईन ,हाम्रो उपद्रो प्रबृत्तिले पनि हो । अहिले सरकारलाई सहयोग गर्नुपर्ने युवाहरुले नै दादागिरीको सैली देखाउँदा कसरि नियन्त्रण हुन सक्छ रोग ? सरकारले यसो गरेन उसो गरेन भन्नुको औचित्य के बाँकी हुन्छ होला र ! यस्ता प्रश्नहरूको उत्तर कसले दिन सक्छ ? यस्ता गैरजिम्मेवार कृयाकलापले हामी सभ्य बन्न निकै लामो समय लाग्न सक्छ। अबपनि हामीमा कुनै सकरात्मक चेतनाको रुपान्तरण नहुने हो भने हामी अगाडी होइन पछाडि पुग्नेछौं । उज्यालो होईन अन्धकार यात्रा गरिरहेका हुनेछौ । हरेक पक्षहरूको आफ्नै कमीकमजोरी छन् तर एकअर्कालाई बुझेर अगाडि बढ्नुपर्ने बाहेक अरु विकल्प देखिँदैन। सरकार सम्बन्धित निकायले जुनसुकै समाजलाई विवेक पूर्ण ढंगले सम्झाई बुझाइ साथमा लिएर यस्तो महामारीबाट जोगिन एकतामा बाँधिनु पर्छ । संस्कृति जोगाउने नाममा कुनै विकृति फैलाउन तिर नलागौं । नागरिक समुदायले आफ्नो अधिकार प्रयोग गर्दैगर्दा आफ्नो दायित्वलाई पनि कसैले बिर्सन हुँदैन। जब हामी घरभित्र मिलेपछि मात्र हाम्रो प्रतिष्ठा बाहिर राम्रो हुन पुग्छ। मानवले मानवलाई संरक्षण गर्नुमा नै वास्तविक धर्मको आसय हुन सक्छ ।

मान्छेले मानव हुनुको उदाहरण दिनुपर्छ। सिंगो ब्रह्माण्डको रक्षा गर्नुपर्ने हुन्छ। यस्ता कयौं तुच्छ अमानवीय क्रियाकलाप, हत्याहिंसा, दुर्व्यहार व्यवहारलाई निरुत्साहित पार्न नागरिक समुदाय र सरकार निकाय लेख यस्ता कार्यमा संलग्न जोकोही लिपनी कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउन ढिलासुस्ती गर्नुहुँदैन ।सबैले आफू सभ्य भएर सिङ्गो देशका लागि यो समयमा साथ दिनुपर्छ। नेपाल सरकारले पनि नागरिकको पीर मर्कालाई बुझ्न निकै जरुरत छ ।

आज हामी जो जति स्वस्थ जिन्दगी बाँचेका छौ, लगातार हाम्रो लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकको ठुलो योगदानले गर्दा नै हो । त्यसकारण हरेक नागरिक समुदाय र सरकार निकायले हरेक स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,स्वयंसेवकलाई हौसला ,प्रोत्सान र सुरक्षा दिन कदापी पनि चुक्नु हुँदैन । यदि उनीहरु माथिनै यस्तो चरित्र देखाउँदै जाने हो भने मानवता नै समाप्त भएर जानेछ । जब एक अर्कालाई सम्मान सत्कार गर्न थाल्छौं तब मात्र समाज सभ्य सुरक्षित र समृद्ध बन्न सक्छ। अब सबैको दिल र दिमागबाट दया, माया,प्रेम , सहयोग,सत्कार, सम्मान, परोपकार ,धर्म ,मानवता भन्ने मानवीय गुणहरु जागृत हुन जरुरत छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्