यूएईमा गएको साता कोरोनाको कारण पाँच नेपालीको मृत्यु



काठमाडौं/ २१ भदौ।
गएको साता कोरोनाबाट यूएईमा थप पाँच नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार विश्वव्यापी महामारी कोरोना भाइरसका गएको साता यूएईमा कार्यरत पाँच नेपालीको ज्यान गएको हो ।

योसँगै हिजो शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय पुगेको छ ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको कोरोनाको कारण ज्यान गएको हो ।

स्वास्थ्य समितिका अनुसार गएको साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।

संघका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अहिलेसम्म संसारका विभिन्न देशमा कार्यरत ३४ हजार ९ सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य समितिले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्