प्रचण्ड र माधवहरु नै पार्टीमा समस्याका जड हुन्ः ओली



काठमाडौं । नेकपा अध्यक्ष केपी ओलीले नयाँ पुस्तालाई नेतृत्व छोड्न तयार भएमा पार्टीको विवाद समाधान हुने बताएका छन् । वरिष्ठ नेता माधव नेपालसँगको भेटमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्व स्थापित गरेर जान आफू तयार रहेको बताएका हुन् ।

नेता नेपाल आफूनिकटका स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर आइतबार बालुवाटार पुगेका थिए । नेपाल पक्षसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवादको कारक प्रचण्डसहितका पाँच नेता रहेको आरोप लगाएका थिए ।

‘विवादको जड ३२ वर्षदेखि १४ वर्षसम्म पार्टी प्रमुख र पटक–पटक सरकार प्रमुख भइसकेका व्यक्ति हुन् । सबैले छोडदिएपछि त्यो समस्या समाधान हुन्छ । नयाँ पुस्तालाई दिउँ भन्ने नै प्रधानमन्त्रीको भनाइ हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले त्यसो भन्दा उहाँले हुन्न भन्न मिलेन । उहाँले त म दसौं महाधिवशेनमा उठ्दिन भनेर लिखित भाषणसहित नवौं महाधिवशेनमा अध्यक्ष लड्नुभएको थियो । त्यही भएर उहाँ बोल्न सक्नुहुन्न । नयाँ पिढीलाई दिउँभन्दा अरु तीन जना खुसी हुने नै भए ।’

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३२ वर्ष पार्टी प्रमुख र दुईपटक प्रधानमन्त्री भएको, वरिष्ठ नेता माधव नेपाल १६ वर्ष पार्टी प्रमुख र २१ महिना प्रधानमन्त्री भएको प्रसंग निकालेका थिए । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाल १४ वर्ष पार्टी प्रमुख र ६ महिना प्रधानमन्त्री भएको प्रसंगसमेत उठाएका थिए ।

त्यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुटेर पटक–पटक पार्टी प्रमुख भएको प्रसंगसमेत प्रधानमन्त्रीले उठाएको बालुवाटार स्रोतको दाबी छ । पार्टी फुटाएर चार वर्ष पार्टी प्रमुख बने पनि एक सिटसमेत नजितेको भन्दै प्रधानमन्त्री ओलीले तीन पटकसम्म पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेकाले नेकपा उपाध्यक्ष वामदेव गौतमले समेत अवकाश लिनुपर्ने प्रधानमन्त्रीको धारणा रहेको स्रोतको दाबी छ ।

तीन घण्टासम्म भएको छलफलमा सबै विषयमा छलफल भए पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग कुनै सहयोग नमागेको उनीनिकट एक नेताले बताए । ‘कुनै सहयोग गर्न पर्याे भन्ने खालको कुरा भएको होइन । उहाँले अहिलेको स्थिति बताइदिनु भएको हो,’ ती नेताले भने, ‘शनिबार बुझाइएको माग पत्रमा प्रयोग गरिएका भाषाको तथ्य जाँच नगरीकन कसरी हस्ताक्षर गर्नुभयो भनेर प्रधानमन्त्रीले सोध्नुभएको हो । बालुवाटार भेटन जान्छु भनेर प्रचण्डलाई जानकारी गराएर आउनेले के जवाफ दिन सक्नुहुन्यो भन्ने हो ।’

प्रचण्डसहित नेकपा सचिवालयका पाँच नेताहरूले बैठकको माग राख्दै शनिबार प्रधानमन्त्री ओलीलालाई पत्र बुझाएका थिए । शनिबारको बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डबीच चर्काचर्की नै परेको थियो। दुबैले एकअर्कालाई गुटबन्दी गरेको आरोप लगाएका थिए ।

अर्का अध्यक्षसँग विवाद बढेसँगै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग छलफल गरेका हुन्। भेटमा प्रधानमन्त्री ओलीले पार्टी विभाजनको दिशामा गएकाले यसलाई रोक्नका लागि भूमिका खेल्न आग्रह गरेको नेपाल पक्षको दाबी छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्