गणेशमान सिंहको १०६औं जन्मजयन्ती मनाइँदै



काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विस २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विस १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनी लगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विस २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए ।

जेलबाट भागेर भारतमा पुगी अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्