नेपालका प्रयोगशाला प्रतिवेदन शंकाको घेरामा



काठमाडौं। कोभिड–१९ नेगेटिभ रिपोर्ट लिएर विदेश गएकाहरूमा पोजिटिभ देखिने क्रम बढेपछि यहाँको प्रयोगशाला प्रतिवेदन शंकाको घेरामा परेको छ। विदेश उड्ने व्यक्तिको मात्र नभई मुलुकभित्रै पनि पीसीआर परीक्षण गडबड देखिएको विज्ञहरूले बताएका छन्।

पीसीआर रिपोर्ट नेगेटिभ बोकेर यहाँबाट उडेका यात्रुमा पोजिटिभ देखिएपछि हङकङ विमानस्थलले नेपाल वायुसेवा निगमको विमानलाई उडानमा पटकपटक प्रतिबन्ध लगाएको छ। पछिल्लो पटक हङकङ उडानमा १४ जनामा कोभिड पोजिटिभ देखिएपछि दुई साता लगाइएको प्रतिबन्ध आगामी शुक्रबारसम्म छ। ‘जापान र हङकङ उडानमा पीसीआर रिपोर्टमा बढी समस्या देखियो,’ निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले भने, ‘प्रयोगशालाहरू छानबिन गर्न स्वास्थ्य मन्त्रालयमा निवेदनसमेत दिएका छौं ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त निवेदनबारे थप बुझ्न एउटा समिति बनाइएको बताए। निगमका महाप्रबन्धक पौडेलका अनुसार निजी प्रयोगशालाको रिपोर्ट बढी शंकास्पद देखिएको छ। ‘नेपालमा नेगेटिभ र विदेशमा पोजिटिभ देखिएका सबै रिपोर्ट निजी प्रयोगशालाका हुन्,’ उनले भने, ‘सरकारी प्रयोगशालाको रिपोर्टमा समस्या देखिएको छैन । त्यसैले हाल सरकारीबाटै परीक्षण गराउन भनिएको छ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुकी निर्देशक डा. रुना झाले विदेश जानेहरूको पीसीआर परीक्षण प्रतिवेदन यहाँ नेगेटिभ आए पनि बाहिर पोजिटिभ देखिएको गुनासो आएको बताइन्। ‘शंकामा रहेका प्रयोगशालाहरूमाथि छानबिन गर्नुपर्छ,’ उनले भनिन्। उनका अनुसार ‘बोर्डर लाइन केस’, प्रारम्भिक अवस्थाको संक्रमण र निको हुन लागेको अवस्थामा नेगेटिभ–पोजिटिभ आउन सक्छ। प्रयोगशाला, उपयोग गरिने रिएजेन्टपिच्छे रिपोर्टमा अन्तर हुन सक्छ। ‘संकलन गरिएका फरकफरक नमुनामा समेत भाइरसको मात्रा फरक हुँदा नतिजा अर्कै हुन सक्छ। तर धेरै संख्यामा गलत रिपोर्ट नदेखिनुपर्ने हो,’ उनले भनिन्।

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले एउटामा पीसीआर गराउँदा पोजिटिभ र अर्कोमा गराउँदा नेगेटिभ देखिने समस्या धेरै रहेको बताए। ‘यसले विदेशमा हाम्रो प्रयोगशालाको बदनामी हुन्छ। विश्वसनीयता गुम्छ,’ उनले भने, ‘व्यक्तिले चाहेका बेला नेगेटिभ रिपोर्ट निकाल्नु गलत हो। आधिकारिक निकायले तुरुन्त छानबिन गरी कडा कारबाही गर्नुपर्छ।’ एनपीएचएलका एक अधिकारीले बाहिर जाने व्यक्तिहरूसँग २५–३० हजार रुपैयाँ लिएर निजी प्रयोगशालाले पोजिटिभ रिपोर्टलाई नेगेटिभ बनाउने गरेको जानकारीमा आएको सुनाए। ‘तर हामीसँग यथेष्ट प्रमाण नभएकाले कारबाही गर्न सक्ने स्थितिमा छैनौं,’ उनले भने ।

नपीएचएलका अर्का अधिकारीले केही निजी प्रयोगशाला प्रस्तावितभन्दा आधा मात्रा मात्र रिएजेन्ट उपयोग गर्दासमेत पीसीआर परीक्षणको नतिजा अविश्वसनीय भएको बताए। केही प्रयोगशालाले २५ वटा परीक्षण गर्न सकिने रिएजेन्टबाट ५० वटा परीक्षण गर्ने गरेको जानकारी आएको उनले बताए ।

एनपीएचएलका पूर्वनिर्देशक डा.राजकुमार महतोले विदेश नजानेले पनि एउटै प्रयोगशालामा कोभिड परीक्षण गराएर ढुक्क हुने अवस्था नरहेको बताए। ‘मेरो अनुभवमा केही पीसीआर परीक्षणको गलत रिपोर्ट आइरहेको छ,’ उनले भने, ‘एउटै व्यक्तिमा एकै समय विभिन्न प्रयोगशालाबाट फरकफरक रिपोर्ट आउनुका पछाडि किटको गुणस्तरसमेत जिम्मेवार हुन्छ। किटको भ्यालिडेसन गरेर मात्र परीक्षण सुरु गर्नुपर्ने हो तर यो गरिँदैन ।’

पीसीआर रिपोर्ट पोजिटिभ देखिएकाहरूको सूची इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जाने गर्छ। त्यही सूची एयरपोर्टमा समेत पठाउनुपर्ने जनाउँदै वरिष्ठ जनस्वास्थ्यविद् डा. बीसीले भने, ‘पोजिटिभ देखिएकाहरू अर्को प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट निकालेर विदेश उड्न खोजेका छन् भने उनीहरू विमानस्थलमै रोक्न सकिन्छ।’ उनका अनुसार विदेश जानेहरूले गराउने पीसीआर परीक्षणमा वास्तविक नामलगायत जानकारी हुन्छ। कोभिड–१९ पोजिटिभ देखिएकाहरूको सूची ७२ घण्टाभित्र विमानस्थलमा पठाउँदा गलत जानकारी दिएर उड्न खोज्नेलाई रोक्न सकिन्छ।कान्तिपुर दैनिकमा अतुल मिश्रले समाचार लेखेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्