प्रहरीको गोली लागेर ३ जना गम्भीर घाइते, उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइयो




बर्दिबास। महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबिच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन्। प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफापता आलम घाइते भएका बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) विदुर कार्कीले बताए।

घाइतेमध्ये सञ्जयको दुवै तिघ्रामा गोली लागेकाले उपचारका लागि तत्कालै काठमाडौँ लैजानुपर्ने चिकित्सकको सल्लाह अनुसार हेलिकप्टरमार्फत काठमाडौँ काठमाडौँ पठाइएको मेयर कार्कीले बताए। अन्य २ जना घाइतेलाई एम्बुलेन्सबाट काठमाडौँ पठाउने तयारी भइरहेको छ।

बलात्कार र हत्याको आरोप लागेका अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ। आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी गरेका छन्। स्थानीयले बर्दिबासमा विरोध प्रदर्शन समेत गरिरहेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको छ। बालिकाको शव प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्