बर्दिबासमा कर्फ्यू लगाइयो



महोत्तरी। महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ। ६ वर्षीया बालिका गुलाब शाहको हत्या बिरोधमा मंगलबार गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेका एक व्यक्तिको मृत्यु भएसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा घाइते भएकामध्ये एक जनाको आज बिहान उपचारका क्रममा निधन भएको हो। प्रशासनले बुधबार बिहान ९ बजे देखि ६ बजे सम्मकालागि निषेधाज्ञा जारी गरेको छ।

पूर्वमा रातोखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको हो। मंगलबारको प्रदर्शनमा प्रहरीले हानेको गोली तिघ्रामा लागेर घाइते भएका बर्दिबास नगरपालिका १ का ४२ वर्षीय बुद्धिराज न्यौपानेको उपचारको क्रममा काठमाडौमा निधन भएको हो।

बालिकाको हत्याविरुद्ध भइरहेको प्रदर्शन नियन्त्रण गर्न भन्दै प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यासका साथै रबरका गोली र हवाइ फायरसमेत गरेको थियो। हत्या अभियोगमा गौशाला नगरपालिका–५ का अरुणकुमार साहलाई प्रहरीले पक्रेको छ। बालिका हत्यामा साह संलग्न रहेको थाहा पाएपछि आक्रोशित स्थानीयले मंगलबार उनको बर्दिबासस्थित घरमा आगजनी गरिदिएका थिए।

सोही क्रममा स्थानीय र प्रहरीबीच तनाबको अवस्था सृजना भएको हो। गत सोमबार चकलेट किन्न गएको समयमा बालिकाको हत्या गरिएको थियो। बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्