जनताको मुहारमा खुसीको दियो बाल्न सक्ने निर्णय गर्न सकोस् : शान्ता चौधरी



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले आज बस्ने पार्टी सचिवालय बैठकबाट पार्टीमा जारी विवाद समाधान हुने अपेक्षा व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत चौधरीले आम नेता कार्यकर्ताको चिन्ता समाप्त गर्ने दिशामा आजको सचिवालय बैठक अग्रसर हुनुपर्ने धारणा राखेकी छन्।

पार्टीमा जारी विवादले आम कार्यकर्तालाई निराश बनाएको उनको भनाई छ। आजको सचिवालय बैठकले नेपाली जनताले खुसीको दियो बाल्ने निर्णय गर्ने विश्वास उनले व्यक्त गरिन्। आज हुने निर्णयबाट आम नेता कार्यकर्तामा नयाँ उर्जादिने चौधरीको विश्वास छ। उनले पार्टीमा जारी विवाद अन्त्य भएर नयाँ बिहानीको स्वागत गर्न आफूहरू आतुर रहेको पनि उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘सपनाको मृत्यु नहोस् मलाम जान नपरोस् सुनौलो बिहानीलाई अँगालेर स्वागत गर्न मन छ। सचिवालय बैठकले सबै कार्यकर्ताको चिन्तालाई समाप्त गरेर उर्जादिन सक्ने र आम नेपाली जनताको मुहारमा खुसीको दियो बाल्न सक्ने निर्णय गर्न सकोस् आदरणीय नेता कमरेडहरूलाई यही अनुरोध गर्दै बैठकको शुभकामना व्यक्त गर्दछु।’

नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्ताबेजको जवाफ दिने तयारी गरेका छन्। प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ पृष्ठ लामो दस्ताबेज प्रस्तुत गरेका थिए। दस्ताबेजमा ओलीको प्रश्नको जवाफ, ओली प्रवृत्ति र कार्यशैली लगायतका राजनीतिक विषयहरू समेटिएका थिए।

आरोप पत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्