उद्योग वाणिज्य महासंघको अध्यक्षमा शेखर गोल्छा , चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष



काठमाडौं। शेखर गोल्छाले विधिवत रूपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको पदभार सम्हालेका छन्। महासंघमा नयाँ कार्यसमिति चुनिएसँगै यसअघि वरिष्ठ उपाध्यक्ष रहेका गोल्छा विधानअनुरूप स्वतः अध्यक्ष बनेका हुन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ।

गोल्छासँगै महासंघको शनिबार सम्पन्न ५४औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आइतबार पदभार सम्हालेका छन् । काठमाडौंस्थित सोल्टी होटेलमा आइतबार आयोजित समारोहमा निवर्तमान अध्यक्ष भवानी राणाले अध्यक्ष शेखर गोल्छालाई नेतृत्व हस्तान्तरण गरिन्। यससँगै गोल्छा महासंघको १९औँ अध्यक्ष बनेका छन्।

राणाले अध्यक्षको पिन लगाइदिएर गोल्छालाई नेतृत्व हस्तान्तरण रेकी हुन्। त्यस्तै, गोल्छाले राणालाई निवर्तमान अध्यक्षको पिन लगाइ दिएका थिए। समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कार्यकारिणी समितिका सदस्यहरूले आ–आफ्नो पद तथा गोपनीयताको शपथ लिए।

अध्यक्ष शेखर गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणाबाट र नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरूले अध्यक्ष गोल्छाबाट पद तथा गोपनीयताको शपथग्रहण गरे। उक्त अवसरमा बोल्दै अध्यक्ष गोल्छाले निर्वाचनमा प्यानल, गुट–उपगुट भए पनि अब सबै एक भएको बताए। ‘निर्वाचन सकियो, निर्वाचनमा प्यानल, गुट–उपगुट भए पनि अब हामी एक हौँ भनेर मैले भनिरहनुपर्दैन, एकताको महत्व हामी सबैले बुझेका छौँ,’ उनले भने, ‘निर्वाचनका क्रममा घोचपेच केही थिए भने सबैलाई बिसाएर अब समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि समर्पित गर्नुहुने विश्वास लिएको छु ।’

महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान र्पुयाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको अध्यक्ष गोल्छाले बताए । ‘तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी–व्यवसायीलाई राहत प्रदान गर्न मैले थप प्रयास गर्नेछु, सँगसँगै दिगो र दरिलो अर्थात् रेजिलेन्ट अर्थतन्त्र निर्माणका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारका योजना तयार भएको छ,’ उनले भने, ‘आर्थिक रणनीतिपत्र पहिलो कार्यकारिणी समितिमा प्रस्तुत गरी तत्काल कार्यान्वयनमा लाने मेरो योजना छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष राणाले महासंघको ५० वर्षको इतिहासमै पहिलोपटक महिलाले नेतृत्व सम्हालेको बताउँदै यो ऐतिहासिक रहेको बताइन् । उनले महासंघमा अध्यक्षका रूपमा रहेर तीन वर्ष र केही महिना सेवा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निवर्तमान अध्यक्षका रूपमा रहेर आफूले सकेको सहयोग गर्ने विश्वास दिलाइन्।

नवनिर्वाचित टिमलाई कोभिडले चुनौती थपिदिएको भए पनि टिमले यसलाई सजिलै चिर्न सक्ने आफूले विश्वास लिएको समेत बताइन्। निवर्तमान अध्यक्ष राणाले अर्थतन्त्रको विकास र निजी क्षेत्रको प्रभावकारी भूमिका बढाउन नयाँ टिम सफल हुने विश्वाससमेत व्यक्त गरिन्।

विशिष्टमा मुरारका, मानार्थमा प्रधान

नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विशिष्ट सदस्यमा पशुपति मुरारका र मानार्थ सदस्यमा किशोर प्रधानलाई नियुक्ति गर्ने निर्णय गरेको छ। प्रधान शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा चन्द्र ढकालसँग पराजित भएका थिए। त्यस्तै, बैठकले नरेन्द्रकुमार खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णयसमेत गरेको छ। महासंघको कोषाध्यक्षको चुनाव सोमबार गरिने भएको छ। कार्यसमिति सदस्यमध्येबाट एकजना कोषाध्यक्षमा निर्वाचित हुनेछन्।

को हुन् ढकाल ?

२०२२ सालमा बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल नेपालका सफल उद्यमीका रूपमा चिनिन्छन् । ०४८ सालमा भाइ हेमराज ढकाल ९रामु०सँग मिलेर सानो कोल्डस्टोर व्यवसाय सुरु गरेका ढकालले व्यवसायलाई विस्तार गर्दै कर्पोरेट तहमा र्पुयाएका छन्। अहिले ढकालले नेतृत्व गरेको आइएमई ग्रुपअन्तर्गत बैंक तथा वित्तीय संस्था, बिमा, रेमिट्यान्स, केबलकार, रिसोर्ट, अटोमोबाइल, जलविद्युत्, अक्सिजन उद्योगलगायत विभिन्न क्षेत्रमा दर्जनौँ उद्योग–व्यवसाय रहेका छन्।

अहिले आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष रहेका ढकालले विभिन्न सामाजिक संघ–संस्थाको पनि नेतृत्व गरेका छन् । सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाका ‘अनररी कन्सुल’ रहेका ढकाल ‘नेपाल इन्डोनेसिया उद्योग वाणिज्य संघको अध्यक्ष, नेपाल–जर्मनी उद्योग वाणिज्य संघको उपाध्यक्ष र ‘इन्टरनेसनल च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज–नेपाल’को उपाध्यक्ष पदमा रहेरसमेत काम गरेका छन्।

ढकाल नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समिति सदस्य तथा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यसमेत हुन्। नेपाल सरकारले ढकाललाई गोरखा दक्षिणबाहु चौथो र प्रबल जनसेवाश्री चौथोबाट सम्मान गरेको छ । त्यस्तै, नेपालमा वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्रयाएबापत उनले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) बाट ढकाल लगातार तीन आर्थिक वर्षमा सम्मानित भइसकेका छन्। नयाँ पत्रिकाबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्