नेकपा सचिवालय बैठकमा आज के भयो निर्णय ?



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक केही बेरअघि सकिएको हो। आजको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको छुट्टाछुट्टै प्रतिवेदनमा छलफल भएको थियो।

कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मङ्सिर १३ गते अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।’ अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु भएको छ। छलफल सकिएको छैन। अनौपचारिक छलफल पनि बढाउनु पर्ने बैठकले निष्कर्ष निकालेको छ। सम्वादका प्रक्रिया अगाडि बढाइने छ,’ प्रवक्ता श्रेष्ठले भने।

श्रेष्ठका अनुसार सचिवालय बैठक बुधवार दिउँसो १ बजे फेरि बस्ने छ। उक्त बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए। ‘औपचारिक छलफलका साथसाथै अनौपचारिक छलफलको क्रम अघि बढाउन उपयुक्त हुने ठानिएको छ। त्यसैले नेताहरूको बिचमा अनौपचारिक छलफल अगाडि बढाइने छ,’ श्रेष्ठले भने।

आजको बैठकमा मुख्य गरी ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए। साथसाथै अन्य सदस्यले पनि सामान्य छलफल गरेको प्रवक्ता श्रेष्ठले बताए। पार्टीको संकटको चुरो कारणका विषयमा गम्भीर छलफल गर्ने कार्य अझै बाँकी रहेको उनले बताए। साझा प्रस्तावका बारेमा बैठक सकिएपछि निष्कर्ष निकाल्ने उनले बताए।

पार्टीका महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटेर आजको बैठक सुरु भएको थियो। ६२ वर्षमा प्रवेश गरेका पौडेललाई नेताहरूले केक खुवाएर शुभकामना दिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्