‘अपारदर्शी रूपमा गुप्तचरसँग वार्ता गर्ने कुरा मेल खाँदैन, त्यो बन्द गरिनुपर्छ’ : भीम रावल



काठमाडौं। भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलका लागि प्रवेश भएको छ। सत्तारुढ नेकपाका सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न उठाएका छन्।

प्रतिनिधसभाको अन्तर्राट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नेता रावलले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेटेको विषयबारे संसद, सत्तारुढ दल नेकपा र जनतालाई जानकारी नभएको भन्दै आपत्ति जनाए।

‘भारतका गुप्चतर संस्था रअका प्रमुख सामन्त गोयल सैनिक जहाजमा चढेर काठमाडौं आए। त्यसबारे भारत र नेपालको परराष्ट्र मन्त्रालयले कुनै जानकारी गराएको छैन। राति प्रधानमन्त्री निवासमा गुप्तचरसँग भेट्ने कुरा मिलेन। यस्ता गतिविधि गरिनु हुन्न,’ रावलले भने।

पार्टीको विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उक्त भ्रमणबारे जानकारी नरहेको र सत्तारुढ दलका सांसद आफूलाई पनि त्यो जानकारी नभएको रावलको भनाइ थियो। ‘अपारदर्शी रूपमा गुप्तचरसँग वार्ता गर्ने कुरा मेल खाँदैन। त्यो बन्द गरिनुपर्छ,’ रावलले भने।

उनले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणका क्रममा भएको प्रतिनिधिमण्डल स्तरमा वार्ताबारे पनि प्रश्न उठाए। उनले भनेका छन्, ‘विमानस्थलमा लिन र छोड्न मन्त्रीजी गएको देखिन्छ। अनि प्रतिनिधिमण्डल स्तरको वार्ता सेना प्रमुखसँग ? यो कस्तो कूटनीति हो मैले बुझिनँ।’

उनले अघि भने, ‘एउटा मन्त्रीको प्रधानसेनापतिसँग डेलिगेशनस्तरमा वार्ता हुने चलन मैले त नयाँ सुनेँ। यो कस्तो कूटनीति हामीले आरम्भ गर्न खोजेको मैले बुझिनँ।’ चिनियाँ रक्षामन्त्री वेईलाई स्वागत गर्न गृहमन्त्री रामबहादुर थापा बादल विमानस्थलमा पुगेका थिए। तर उनको भ्रमणका क्रममा प्रतिनिधिमण्डलस्तरमा सेना प्रमुखसँग वार्ता भएको सरकारले बताएको छ। उनी पनि जङ्गी अड्डा पुगेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्