संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौं । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद पुनःस्थापना गरेरै छोड्ने बताएका थिए ।

त्यस्तै उनीहरुले नेकपाको मुलधार आफुहरुले नेतृत्व गरेको पार्टी नै भएको भन्दै आफ्नो पक्षमा झण्डै दुई तिहाइ केन्द्रीय सदस्य रहेको जनाकारी गराएका थिए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुष ११ गते शनिबार सबै प्रदेश कार्यालयहरुको संयोजनात्मक बैठक बसेको सो पार्टीले जनाएको छ । पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गर्न नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय २१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको छ ।

संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा समेत एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्