मुख्यमन्त्री पद जोगाउन सांसद किनबेच हुनथाले



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरुको किनबेच र तानातान सुरु भएको छ । दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राई पार्टी विभाजन पछि अल्पमतमा छन् ।

पद जोगाउने प्रयासमा उनले नेकपा प्रचण्डमाधव नेपाल समूहका सांसदहरुलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेको बताइएको छ । राईले मन्त्री पद र आगामी चुनावका लागि आर्थिक सहयोगको प्रलोभन देखाएको सांसदहरुले बताए ।

प्रदेश सांसद कुलप्रसाद साम्बाले पार्टीमा कित्ता परिवर्तन गरे आफूलाई मन्त्री पद दिने आश्वासन आएको बताए । ‘मलाई मन्त्रीको अफर आएको छ,’ उनले भने, ‘पार्टीको विचार सिद्धान्त भन्दा म बाहिर जान्नँ । अरु माननीयज्यूहरु पनि जानुहुन्न भन्ने लाग्छ ।’ प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपाका ६७ जना सदस्य छन् ।

पार्टी विभाजन पछि प्रचण्डमाधव समूहले आफ्नो पक्षमा ४६ जना सांसद रहेको दाबी गर्दै आएको छ । ओली समूहमा २१ जना सांसद खुलेका छन् । १२ पुसमा मुख्यमन्त्री विरुद्ध दायर भएको अविश्वासको प्रस्तावमा ३७ जना सांसदले हस्ताक्षर गरेका छन् । तीमध्ये उदयपुरकी प्रदेशसभा सदस्य कला घलेले आफ्नो नाम फिर्ता लिएकी छिन् ।

अविश्वासको प्रस्ताव दर्ता गरेकामध्ये १६ जनालाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । हस्ताक्षर गरेर स्वतन्त्र बसेका २० जना र हस्ताक्षर नगरी बसेका १० जनालाई ओली समूहले आफ्नो पक्षमा ल्याउनका लागि मन्त्री पदको अफर गरिरहेको हो ।

ओली समूहले कित्ता परिवर्तन गरे प्रत्यक्ष तर्फ निर्वाचित सांसदलाई मन्त्री र समानुपातिक सांसदलाई राज्यमन्त्रीको अफर गरेको एक महिला सांसदले बताइन् । ‘मलाई पनि राज्यमन्त्री र चुनावमा सहयोगको आश्वासन आएको छ,’ प्रचण्डमाधव समूहकी समानुपातिक तर्फकी एक महिला सांसदले भनिन्, ‘पार्टीको केन्द्रीय सदस्य पनि बनाउने भन्दैछन् ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्