कतारमाथि लागेको ३ वर्षे नाकाबन्दी सकियो



दोहा । कतारमाथि लगाइएको नाकाबन्दी फुकुवा भएको छ । साउदी अरब, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्सले तीन वर्षअघि कतारमाथि नाकाबन्दी लगाएका थिए । मंगलबार साउदी अरबका युवराज मोहम्मद बिन सलमानले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई साउदी अरबमा स्वागत गरेका छन् ।

कतारी अमिर गल्फ कोअपरेसन काउन्सिलको सम्मेलनमा भाग लिन साउदी पुगेका हुन् । सन् २०१७ जुनमा यी चार मुलुकले मध्यपूर्वमा रहेका इस्लामी अतिवादी समूहलाई सघाएको र इरानसँग घनिष्ट सम्बन्ध राखेको आरोप लगाउँदै कतारसँगको जल, स्थल र हवाइ सम्बन्ध तोडेका थिए ।

छिमेकी मुलुकले नाकाबन्दी गरेपछि कतारले उडानका लागि इरानको आकाश प्रयोग गर्दै आएको थियो । नाकाबन्दी सकिएपछि अब कतारले इरानलाई आकाशको शुल्क स्वरूप तिरिरहनु परेको लाखौं अमेरिकी डलर जोगिने छ । मंगलबारको सम्मेलनपछि जारी विज्ञप्तिमा पाँचै मुलुकले कुनै पनि देशले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सबै मुलुक आफूले चाहेजसरी परराष्ट्र नीति सञ्चालन गर्न स्वतन्त्र भएको उल्लेख गरिएको छ ।

नाकाबन्दी लामो समयसम्म जारी रहे कतार सधैँका लागि इरान र टर्कीसँगै जाने ठानेर चार मुलुकले नाकाबन्दी तोडेको हुन् । मंगलबारको सम्मेलनमा बोल्दै साउदी युवराज सलमानले पनि इरानलाई ठेगान लगाउन अरब एकता आवश्यक भएकोमा जोड दिए ।

‘इरानको आणविक कार्यक्रमले हाम्रो क्षेत्रमा देखा परेको चुनौतीलाई सामना गर्न हामीलाई यो एकता आवश्यक छ,’ उनले भने,‘यो क्षेत्रको शान्तिमाथि उत्पन्न खतराविरूद्ध अन्तर्राष्ट्रिय समुदाय गम्भीर भएर एक ठाउँमा उभिन जरूरी छ ।’

सम्झौताअनुसार कतारले अरू राष्ट्रविरूद्ध विश्व व्यापार संगठनमा हालेका मुद्दाहरूलाई फिर्ता गर्नेछ । नाकाबन्दी लगाउँदाताका अरू मुलुकले कतारसँग राखेका सबै माग भने पूरा भएका छैनन् । मुस्लिम ब्रदरहुडलाई गर्दै आएको सहयोग रोक्नु पर्ने, अलजजिरा लगायत मिडिया बन्द गर्नुपर्ने माग ती मुलुकले छोडेका छन् ।

यो नाकाबन्दी हटाउन कुवेतले मध्यस्थताको भूमिका खेलेको थियो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड कुशनरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले विशेष गरी युएईलाई मनाउन ठूलो प्रयास गरेको बताइएको छ ।

कुशनर मंगलबारको सम्मेलनमा सहभागी हुन साउदी अरब पुगेका थिए । अमेरिकामा जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि उनको प्रशासनसँग काम गर्न सजिलो होस् भनेर साउदी अरबले नै अहिले नाकाबन्दी अन्त्य गर्न चाहेको पनि विश्लेषण गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्