नेमकिपाले गर्यो ओलीको कदमको समर्थन



भक्तपुर । भक्तपुर नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । सभामा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम औचित्यपूर्ण भएको बताए । उनले निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने बताउँदै निर्वाचनबाट भाग्न हुँदैन भने ।
उनले सरकारसँग ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन माग गरे । काठमाडौँ उपत्यकाका सम्पदा समाप्त हुने खतरा बढिरहेकोतर्फ सचेत पार्दै उनले भक्तपुरको चारै दिशामा शहरीकरणको नाममा जथाभावी निजी प्लटिङका कारण अव्यवस्थित शहरको विकास भइरहेको र कृषियोग्य जमिन घटिरहेको बताए ।

कार्यक्रममा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाले अविचलित ढङ्गले जनताको सेवामा क्रियाशील भई अगाडि बढिरहेको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका जनप्रतिनिधिको भूमिका अझ बढेको बताए ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर नपाले आफ्नो छुट्टै पहिचान कायम गरिरहेको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्