भारतीय समकक्षीसँग ज्ञवालीको प्रस्ताव- सीमा सम्बन्धी वार्ता तत्कालै थालौं



३ माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी गर्न प्रस्ताव गरेका छन् ।

शुक्रबार नेपाल-भारत संयुक्त आयोगको बैठकअघि भएको एक्लाएक्लै वार्तामा मन्त्री ज्ञवालीले सो प्रस्ताव गरेका हुन् । यद्यपि आयोगको औपचारिक बैठकमा सो विषयमा सामान्य छलफल भए पनि औपचारिक एजेण्डा बनेन ।समाचार स्रोतका अनुसार मन्त्री ज्ञवालीले दुई देशको परराष्ट्र सचिवस्तरीय संयन्त्रको वैठक वा सीमामा केन्द्रित रहेर अन्य कुनै वार्ता थालनी गर्नुपर्ने प्रस्ताव गरेका थिए । उनको भनाइ थियो- यो विषयलाई धेरै लामो समय राख्नु हुन्न समाधान गर्नुपर्छ । ज्ञवालीले उनीसँग कुनै मोडालिटीको विकास गर्न प्रस्ताव गरेका थिए ।

तर भारतीय विदेशमन्त्रीले यस सम्बन्धमा ठोस जवाफ दिएनन् । खाली उनले सीमा सम्बन्धी केही संयन्त्र छन् त्यहाँ छलफल गरौं मात्र भने ।

आयोगको वैठकबाट सीमा सम्बन्धी विषयलाई एक कदम अगाडि लैजाने नेपालको तयारी थियो तर आयोगमा यसलाई औपचारिक एजेण्डा नै बनाइएन् ।

आयोगको वैठकले यो विषयलाई अपनत्व लिएर परराष्ट्र सचिवस्तरीय वार्ताको विषय अगाडि बढाउने अपेक्षा नेपालको थियो तर त्यसो हुन सकेन् ।

त्यसैगरी कालापानी र सुस्ताबाहेक अन्य ठाउँमा रहेका सीमा सम्बन्धी समस्या समाधान गर्ने र आवश्यक परेमा कालापानी र सुस्तामा पनि प्राविधिक सहयोग गर्ने म्यान्डेट पाएको बाउन्ड्री वर्किङ ग्रुपको काम र यसको वैठकको बारेमा पनि आयोगको बैठकमा छलफल भएन् ।

गत नोभेम्बरमा भारतिय विदेश सचिव हर्षवर्द्धन श्रंगलाको भ्रमणदेखि नै सिमा सम्बन्धी छलफल भएको भनी एक अमूर्त वाक्य उल्लेख गर्नेबाहेक सीमा विवादको सम्बन्धमा केही प्रक्रिया अगाडि बढेको छैन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्