रिया रञ्जीब सवार कार दुर्घटनाः कासाले जोडेको सम्बन्ध बाछाले टुंग्यायो



काठमाडौं- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित सडकमा गत मंसिर २१ गते बा ८ च ४७५६ नम्बरको कार दुर्घटना भयो। पूर्ण रूपमा क्षति भएको कारमा सवार एक महिला रिया श्रेष्ठ भनिने विमला खत्रीको मृत्यु भएको थियो। तीन जना भने सकुशल थिए।

चालक लोकन्थली-१ बस्ने २४ वर्षीय रन्जीव कार्की, विजय देउजा र सुदीप थापा सकुशल थिए। कार पूर्णरुपमा क्षति हुँदा पनि रियाको मात्रै मृत्यु हुनु, दुर्घटनापछि चालकसहित दुई जना भाग्नुले दुर्घटना नभई नियोजित घटना हुन सक्ने आशंका पैदा भएको थियो।

रियाका श्रीमान राजु श्रेष्ठले पनि घटना शंकास्पद भएको र शा’रीरिक सम्पर्कपछि पोल खुल्ने डरले बनावटी दुर्घटना गराएको हुन सक्ने आशंका व्यक्त गर्दै महानगरीय प्रहरी वृत्त ठिमीमा चालक रन्जीव कार्कीविरुद्ध जाहेरी दिएका थिए।

उनले जाहेरीमा आशंका गरेका थिए, ‘म विराटनगर गएको बेला यस्तो कार दुर्घटनामा श्रीमतीको मुत्यु हुनु, कारमा बियरका बोतल फेला पर्नु, दुर्घटनापछि चालक फरार हुनुले आशंका गर्ने ठाउँ दिएको छ। दुर्घटना हुँदा बखतको सिसी टिभी फुटेज हेर्नेदेखि शा’रीरिक सम्बन्ध भए/नभएको समेत जाँच गरी प्रतिवादीलाई कारबाही गरी पाऊँ।’

राजुको आशंकालाई चालक रन्जीवको बयानले शंका थप्ने काम गरेको थियो। प्रहरीसँगको बयानमा रन्जीवले रियासँग कारमै सम्पर्क भएको समेत बताएका थिए। रन्जीवको बयान उदृत गर्दै प्रहरी स्रोत भन्छ, ‘कालोपुल छेउ नजिक कार साइड लगाएर सहमतिमै न सम्पर्क भएको रन्जीवले बताएका थिए।’

रियाका श्रीमानको जाहेरीपछि भक्तपुर प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। प्रहरीले अनुसन्धान सकेर पुस १६ गते जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पठाइसकेको छ। शंकास्पद भनिएको कार दुर्घटनाका तथ्य प्रहरीले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ।

घटना होइन, दुर्घटना
दुर्घटनामा सडकको ६ वटा रेलिङ भत्किनु कारको अगाडिको भाग पूर्ण रुपमा क्षति हुँदा पनि कारमा चार जना सवारमध्ये रियाको मात्रै मृत्यु हुनुले दुर्घटना रहस्यमय भएको आशंका गरिएको थियो। गाडीको मेकानिकल जाँच गर्दा कारको बाँयातर्फको भाग पूर्ण रुपमा क्षति भएको, अगाडिको बर्नट पनि क्षति भएको उल्लेख थियो। बेजोडले दुर्घटना हुँदा पनि चालकलाई किन केही भएन भन्ने प्रश्न रियाका श्रीमान राजुको थियो।

तर अनुसन्धानको क्रममा भने उक्त दुर्घटना बनावटी घटना नभई दुर्घटना भएको पुष्टि गर्दै प्रहरीले फाइल सरकारी वकिलमा बुझाएको छ। मृतक रियाको निधारमा घाउ, नाकमा रगत, ढाडमा ददारिएको घाउ, बाँया कुममा घाउ, बाँया खुट्टाको तिघ्रामा घाउ रहेको ला,श जाँच मुचुल्कामा उल्लेख थियो। अस्पतालको शव परीक्षण प्रतिवेदनमा रियाको टाउको, घाँटी, छाती, र पेटमा सख्त ठोक्किएकाले चोट लागेको उल्लेख छ। रियाको मृत्युको कारणबारे प्रतिवेदनमा लेखिएको छ, ‘मल्टिपल ब्लन्ट फोर्स इन्ज्युरी टु हेड, नेक, चेस्ट एन्ड एडोमिन’। अर्थात् शरीरको विभिन्न भागमा लागेको चोटका कारण उनको मृत्यु भएको हो।

शव परीक्षण रिपोर्टको विश्लेषण गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापाले सुनाइन्, ‘दुर्घटना हुँदा शरीरका विभिन्न ठाउँमा लागेको चोट नै रियाको मृत्यु कारक देखियो।’

कासाले जोडेको सम्बन्ध बाछाले टुंग्यायो
रिया विवाहित महिला थिइन्। उनका एक छोरासमेत थिए। उता प्रतिवादी बनेको रन्जीव भने अविवाहित छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण चौतारा सिन्धुपाल्चोकबाट जुगल गाउँपालिकामा फोकल इन्जिनियरमा पदमा करार सेवामा कार्यरत थिए रन्जीव। कासाले जोडेको विगत दुई वर्षअघि देखिएको उनीहरुको सम्बन्ध एउटा बाछोमा गएर टुंगिएको छ।

करिब दुई वर्ष अघि दरबारमार्गस्थित कासा लन्चमा जाँदा रन्जीवको रियासँग भेट भएको थियो। पहिलो भेटमै उनीहरुले मोबाइल नम्बर समेत आदनप्रदान गरेका थिए। ‘त्यसपछि फोन र ह्वाटस् एपमा समेत हाम्रो कुराकानी हुन थाल्यो। बेलाबखत भेटघाट पनि हुन्थ्यो,’ प्रहरी समक्ष बयानमा रन्जीवले भनेका छन्, ‘मंसिर १९ गते रियाले म भोलि लोकन्थली आउँछ तँ कहाँ छस् भनिन्। मैले आउनुभन्दा आधा घण्टाअघि फोन गर्नु भनेँ।’

मंसिर २० गते दिउँसो १२ बजेतिर लोकन्थली चोकमा रियालाई रिसिभ गर्न रन्जीव बा ८ च ४७५६ नम्बरको कार लिएर पुगे। रियासँगै अन्य दुई जना महिला पनि पुगेका थिए। रियाले त्यतिबेला एकजना आफ्नो बहिनी र एक जना दिदीको छोरी भएको बताएकी थिइन्। कारमा सबैजना घुम्न नगरकोट गए।

‘बसपार्क नजिकको होटलमा हामीले तुम्बा, सुकुटी र चिकेन खायौं। रिया र मेरो त्यही बस्ने कुरा थियो। उनीसँगै आएका बहिनी भोलिपल्टै बुटवल जानुपर्ने भएपछि ठमेल गएर बस्ने भन्दै नगरकोटबाट बाहिरिएका थियौं,’ रन्जीवको बयानमा उल्लेख छ। राति ८ बजे ठमेलको एसिई होटलमा उनीहरु पुगे। त्यहीँ थिए रन्जीवका साथी विवेक कँडेल। रियाका बहिनीलाई घर पुर्‍याउनु पर्ने भएपछि रन्जीवले धुम्बाराहीसिथत रियाको कोठामा लगेर रियासहित उनीसँगै आएका अन्य दुई जनालाई लगेर छाडे।

केहीबेरमा रियाले आफू पनि आउने भन्दै रन्जीवलाई फोन गरेपछि रियालाई लिन उनी पुनः धुम्बाराही पुगे। लोकन्थलीमा रहेका रन्जीवका साथी विजय देउजाले पनि आफू ठमेल आउने बताएपछि उनलाई लिन रन्जीव लोकन्थली पुगेका थिए।

राधेराधेको एक क्याफेमा सुदीप थापा, विजय देउजा भेटसँग रिया र रन्जीवको भेट भयो। ‘उनीहरु तीन जनाले बियर र सिग्नेचर खाए। मैल रेडबुल खाएँ,’ रन्जीवको भनाइ छ, ‘भक्तपुरमा गेस्ट हाउस नपाएपछि ठमेल गएर बस्ने भनेर हिँड्यौं। कौशलटारको पेट्रोल पम्प नजिक पुगेपछि गाईको बाछो अगाडि आइपुग्यो। बाछो जोगाउन बाँया मोड्दा दुर्घटना भयो।’

म’दिरा सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण अचानक सडकमा बाछो आइपुग्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको निष्कर्ष छ। अचेत अवस्थाकी रियालाई अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषित गरेका थिए। रन्जीवसहित तीनै जना भने फरार भएका थिए।

पछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो। पोस्टमार्टम रिपोर्ट, अनुसन्धान प्रतिवेदनलगायतका काजगात हेरेपछि रियाको परिवारले कुनै शंकास्पद घटना नभई दुर्घटना भएको भन्दै मिलापत्र समेत गरेको थियो। दुवै पक्षको मिलापत्र पश्चात चालक रन्जीव रिहा भएको एसपी थापाले बताइन्।

जिल्ला प्रशासन कार्यालयमार्फत् ५ लाख २५ हजार रुपैयाँ र चालक रन्जीवका तर्फबाट क्षतिपूर्ति बापत ६ लाख २५ हजार रुपैयाँ गरी साढे ११ लाख रुपैयाँ रियाको छोराको पढाइका खातामा जम्मा गरिदिने सहमति भएको थियो। नेपाल लाइभ बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्