ट्रम्पले बनाएका खराब नीतिहरु बाइडनले उल्ट्याइदिए



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको शपथ लिएको केही घण्टामा नै डोनाल्ड ट्रम्पका केही प्रमुख नीतिहरु उल्ट्याउन सुरु गरेका छन् । ह्वाइटहाउसतर्फ प्रस्थान गर्दैगर्दा उनले भनेका छन्, “यस्तो संकटका बेलामा हामीसँग समय खेर फाल्ने अवस्था छैन ।”

यसमा बाइडेनले ट्रम्प प्रशासनका ठूल्ठूला क्षतिहरुप्रति मात्र कदम नउठाएर देशलाई अघि बढ्नमा पनि मद्दत गर्ने बताए । अमेरिकामा कोरोनाका कारण हालसम्म ४ लाख मानिसको मृत्यु भइसकेको छ । यस्तोमा बाइडेनले बुधबारदेखि नै कोरोना महामारीको प्रतिक्रिया बढाउन १५ नयाँ आधिकारिक निर्देशन जारी गरेका छन् । त्यस्तै अन्य आदेशहरुमा चाहिँ ट्रम्प प्रशासनले जारी गरेका जलवायु परिवर्तन अनि आप्रवासन सम्बन्धी विषयहरु रहेका थिए ।

बुधबार उनले अमेरिकाका ४६ औँ राष्ट्रपतिको पद ग्रहण गरेका छन् । कोरोना भाइरस सम्बन्धी नियमहरुका कारण यसपटकको शपथ कार्यक्रम इतिहासमै कहिल्यै नदेखिएको किसिमले सम्पन्न गरिएको बताइएको छ । ट्रम्प भने समारोह अगाडि नै फ्लोरिडास्थित आफ्नो गल्फ रिसोर्टका लागि बाहिरिसकेका थिए । शपथ लिनासाथ बाइडेनले ‘प्रजातन्त्रको जित भयो’ भनेर उल्लेख गरे । त्यसपछि उनले यसअघिको प्रशासनले निम्त्याएका संकटहरु परास्त गरि अमेरिकालाई फेरि एकीकृत गर्ने संकल्प लिए ।

उनले आफूलाई मत नदिनेहरु सहित ‘सम्पूर्ण अमेरिकी’ हरुका लागि आफू कुशल राष्ट्रपति बन्ने समेत वचन दिए । शपथ ग्रहण कार्यक्रममा तीनजना पूर्वराष्ट्रपतिहरु उपस्थित भएका थिए । बाराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्लू बुस अनि ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्स । बाइडेन भन्दा अगाडि कमला ह्यारिसले उपराष्ट्रपति पदका लागि शपथ ग्रहण गरेकी थिइन् र पहिलो अश्वेत, एसियन-अमेरिकन महिला उपराष्ट्रपतिका रुपमा आफ्नो भूमिका निर्वाह गर्ने भएकी छिन् ।

समारोहको सुरक्षा व्यवस्था अत्यन्तै कडा थियो । राष्ट्रपति जो बाइडेन, प्रथम महिला जिल बाइडेनसँग आएका थिए भने ह्यारिसका पतिसँगै उपस्थित भइ सबै एकसाथ ह्वाइटहाउस प्रवेश गरेका थिए । शपथ ग्रहण कार्यक्रममा चर्चित हलिउड सेलिब्रेटीहरु पनि देखा परेका थिए । जसमा लेडी गागा, जेनिफर लोपेज अनि गार्थ ब्रुक्सले राष्ट्रिय गान गाएका थिए । त्यस्तै लिन्कन मेमोरियलको कन्सर्टलाई चाहिँ अभिनेता टम ह्यांक्सले सञ्चालन गरे, जसमा ब्रुस स्प्रिङटन, गायक जोन लेजेन्ड, जस्टिन टिम्बरलेक डेमी लोभाटो आदिको प्रस्तुति रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्