अब बाइडेनबाट बन्ला त बिश्वासको नयाँ साख अमेरिकामा ?



अमेरिकी संबिधान अनुसार जनवरी २० का दिन नब निर्बाचित राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहण गरेर अमेरिकी सत्ता सम्हालेका छन् । बाइडेन अमेरिकाका ४६औं राष्ट्रपति हुन् भने कमला पहिला महिला उपराष्ट्रपतिको इतिहास रच्ने ब्यक्तित्व हुन् । यति बेला अमेरिकामा जो बाइडेनको आगमनलाई इतिहासको एउटा सबैभन्दा दुःखद र कालो अध्याय समाप्त भएर नयाँ आशा र भरोसाको अध्याय आरम्भ भएको रुपमा अधिकांश अमेरिकीहरुले लिएको देखिदैछ । एक अनुभवी पूर्व उपराष्ट्रपति तथा पूर्ब सिनेटर बाइडेनले राष्ट्रपतिको पदभार सम्हाल्ने बित्तिकै अमेरिकाको मात्रै होइन सारा संसारमै नयाँ शुरुवात आरम्भ भएको अमेरिकीहरुले औंल्याउन थालेका छन् ।

निश्चय नै निबर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्मको जस्तो प्रकारको बिनाशकारी प्रबृत्ति उनको कार्यकाल र त्यसमा पनि अन्तिम कालखण्डमा जे जस्तो सन्त्रासमय र ध्वंसात्मक स्थिति देखियो यो कुरा बिश्व र अमेरिकाका सञ्चार माध्यमहरुले औंल्याइसकेको र औंल्याइरहेको कुरा नै हो । हुन पनि ह्वाइट हाउसमा उनले बिताएका चार बर्षमा कतिपय ठूल्ठूला परिबर्तनहरु गरिएका थिए । उदाहरणार्थ नश्ल सम्वन्धि समस्याका बिरोधमा अमेरिकाले जुन लाभ कमाएको थियो ट्रम्पले ती मध्ये धेरैजसो कुरालाई गुमाइदिएका थिए । आप्रबासनको कुरालाई पनि उनले जमेरै हतोत्साहित गरेका थिए । जब कि अमेरिकाका लागि के कुरा उल्लेखनीय छ भने वास्तबमा अमेरिकाको निर्माण र पुनर्निर्माण यूरोपेली देशहरुबाट आएका आप्रबासीहरुबाटै भएको हो । पर्याबरणसँग सम्बन्धित अनेकौं महत्वपूर्ण प्राबधानहरु पनि ट्रम्पले फिर्ता लिएका थिए । अरु कुरा त छोडौं जलवायु सम्बन्धि प्रसिद्ध पेरिस सम्झौता र बिश्व स्वास्थ्य संगठन जस्ता बिश्व संस्थाहरुबाट कोरोना कालमै उनले अमेरिकालाई बाहिर निकालेका थिए । उनले अमेरिकामा सञ्चार माध्यमहरु लगायत देशका महत्वपूर्ण संस्थानहरुलाई आफ्नो कार्यकालमा निशाना बनाइहरेका थिए । यस्ता कार्यहरुले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिरुपमा अमेरिकाको छबिमा ठूलो धक्का लागेको र धुमिल भएको थियो । यस्ता गतिबिधिले गर्दा बिश्वमा शून्य भएको यो स्थितिलाई भर्न रुस र चीन अघि सर्ने स्थिति बनेको हो भन्ने अमेरिकी समीक्षकहरुको निष्कर्श छ ।

बास्तबमा डोनाल्ड ट्रम्प अमेरिकी ओभल अफिसबाट बिदा हुँदै गर्दा समेत निर्बाचन परिणामलाई सहर्ष स्वीकार गर्न तयार थिएनन् । त्यसैले आफ्ना पर्बबर्ती राष्ट्रपतिहरुले जस्तो शान्तिपूर्ण तरीकाले सत्ता हस्तान्तरण गर्नको साटो आफ्ना समर्थकरुलाई उक्साएर क्यापिटल हिल संसद भवनमा बबण्डर मच्चाउँदै बिद्रोह गर्न उक्साएर ताण्डब देखाउन उनी अग्रसर भए । बस्तुतः यस घटनाबाट सार संक्षेपमा भन्ने हो भने अमेरिकी समाजमा भिाजनको जुन रेरखा थियो त्यसलाई अझ गहिरो बनाएर बिदा भए । यति मात्र होइन, बिभिन्न समस्याहरुको सामना गर्न पनि असक्षम राष्ट्रपतिकोरुपमा ट्रम्पलाई गनिने छ । सबैभन्दा पहिला त कोभिड–१९ महामारीकै कुरा काफी छ । अमेरिकामा बिश्वमै सबैभन्दा अत्याधुनिक उन्नत स्वास्थ्य पूर्बाधार रहेको भए पनि बिश्वका अन्य राष्ट्रहरुको तुलनामा राम्रो किसिमले कोरोना भाइरसँग लड्न त्यसको उनले ब्यबस्थापन गर्न असफल भए । जसले गर्दा बिश्व जनसंख्याको केवल ५ प्रतिशत मात्र जनसंख्या रहेको अमेरिकामा कोरोनाको कूल बिश्व तथ्यांकमा २५ प्रतिशतभन्दा बढी कोरोना आक्रान्ताहरु अमेरिकैमा देखिए । अनि बिश्वमा कोरोनाबाट कूल मृत्यु हुनेको संख्या पनि २० प्रतिशत(४ लाखभन्दा बढी) भन्दा बढी अमेरिकैमा दर्ज भयो ।

अब अमेरिकामा के सुखद मानिदैछ भने अमेरिकी शासन सत्ताको कमान एउटा यस्तो नेताको हातमा आएको छ जो देशका यी सबै समस्या र कठिनाईहरुबाट देशलाई बाहिर निकाल्न सक्षम छ । हुन पनि आफ्नो चुनाव प्रचारको अभियानमा बाइडेनले मतदातारुसँग प्रतिबद्धता पनि के जनाएका थिए भने उनले केवल आफ्ना समर्थकहरुको मुखियाकोरुपमा मात्र होइन, पूरै राष्ट्रको राष्ट्रपतिकोरुपमा काम गर्ने छन् । बिजयी बने पछि पनि उनले के भनेका थिए भने उनले अमेरिकी समाजमा बढ्दो बिभाजन या अलगावको भावनालाई कम गर्ने प्रयास गर्ने छन् । सपथको सम्बोधनमा पनि उनले अमेरिकी एकतामा सबैभन्दा बढी जोड दिए । यति मात्र नभएर सन्तोषको कुरा अहिले अमेरिकामा के मानिदैछ भने अहिले यस्ता मानिसले अमेरिकामा सत्ता सम्हालेका छन् जसले अमेरिकी संस्थानहरुमा बिश्वास गर्दछ, चाहे ती संस्थाहरु न्यायपालिका, ब्यवस्थापिका, कार्यपालिका या सञ्चार जगत जुनसुकै किन नहुन् । ट्रम्प जस्ता ‘कञ्जरभेटिभ’ अर्थात दक्षिणपन्थी राष्ट्रपतिको बिपरीत वाइडेन सबै असल परम्पराहरुको सम्मान गर्ने ब्यक्ति हुन् भनिदैछ ।

बितेका चार बर्षको ट्रम्पको कार्यकालमा ह्वाइट हाउसले ‘जबाफदेही–मुक्त क्षेत्र’को रुपमा काम गरेको मूल्यांकन गरिदैछ । तर बाइडेनले भने प्रष्ट भनेका छन् कि हरेक किसिमले जबाफदेही बनेर उनको प्रशासनले काम गर्नेछ । त्यसैले, नयाँ अमेरिकी प्रशासनबाट अपेक्षा यस कारणले पनि बढी गरिदैछ कि बिभिन्न बिभाग तथा एजेन्सीहरुको शर्षस्थ पदहरुमा वाइडेनले नियुक्ति गर्दा अमेरिकी बिबिधता, बिषय बिज्ञता र क्षमताको निकै ख्याल राखेको औंल्याइँदैछ । मानिएको थियो कि नयाँ प्रशासनले जिम्मेवारी सम्हाल्ने बित्तिकै कोरोना महामारी सामना गर्ने ‘सुधार प्याकेज’ ल्याउने, ट्रम्पले गरेका कतिपय बिबादास्पद निर्णयहरु उल्टाउने, पेरिस जलवायु र बिश्व स्वास्थ्य संगठनमा पुन सामेल हुने, कतिपय मुस्लिम देशहरुमाथि लगाएको यात्रा प्रतिबन्धलाई रद्द गर्ने जस्ता प्रमुख कदम नया प्रशासनका महत्वपूर्ण कदम हुने छ । यी मध्ये कतिपय महत्वपूर्ण कुराहरु कार्यभार सम्हाल्ने बित्तिकै वाइडेनले लागु गर्न आरम्भ गरिदिए ।

सर्बप्रथम कोरोना भाइरसका बिरुद्ध केन्द्रित भएर नयाँ किसिमले तीब्रतकासाथ कदम अघि बढाउने क्रममा ‘मास्क लगाउन अनिबार्य गर्ने, परीक्षणको दायरा बढाउने र खोप लगाउने सम्वन्धि कुरालाई तीब्रता दिने देखिएको छ । यसका साथै कोभिड–१९ का कारणले गर्दा भाडा तथा लेनदेन आदि भुक्तानि गर्न नसकेका मानिसहरुको बेदखली रोक्ने जस्ता कदमहरु पनि चालिने सम्भवाना देखिन्छ । यी सबै कदम चाल्नका निम्ति बिशेषज्ञ तथा बैज्ञानिकहरुसँग सपथ ग्रहण अघि नै वाइडेनले बिचार बिमर्श गर्न थालेको पनि देखिएको हो ।

आफ्नो घरेलु र बाह्य सम्वन्धका नीतिहरुकाका सम्वन्धहरु तथा राष्ट्रिय सुरक्षासँग सम्वन्धित समूह गठनमा पनि अनुभव तथा प्रतिभालाई बढावा दिन खोएिको देखिदैछ । यसरी बाइडेनले अमेरिकालाई पुनः बिश्व नेतृत्वको स्थितिमा फर्काउने तयारीमा निकै सुझबूझताकासाथ लागेको बुझिन्छ । हुन पनि बिगत एक शताब्दी अगाडिदेखि अमेरिकाले यो हैसियत बनाएको देखिन्थ्यो र पछिल्ला बर्षहरुमा त्यो गुम्दै गएको प्रतीत हुन्थ्यो । त्यसैले अब पनि अमेरिकाले आफ्ना नाटो सहयोगी राष्ट्रहरुसँग सम्वन्ध पुनः सुधार्ने र अन्तर्राष्ट्रिय मञ्चहरुमा सक्रिय भूमिका निभाउने तत्परता र क्रियाशीलता बढाउने दिशा लिने देखिदैछ । किनकि बाइडेनले भनेका छन् – ‘अमेरिका पुनः फर्किएको छ’(अमेरिका इज ब्याक) । यसले अमेरिकालाई पुनः बिश्वको शीर्ष स्थानमा लग्ने र कायम राख्ने महत्वाकांक्षालाई दर्शाउँदछ । यद्यपि डोनाल्ड ट्रम्पले पनि अमेरिकालाई महान बनाउने प्रतिबद्धता नजनाएका होइनन् ।
तर उनको शासन प्रशासनको १,४६१ दिनमा उनले यो प्रतिबद्धतालाई चकनाचुर पारे । अब आफ्नो उमेरको आठौं दशकमा पुग्न लागेका वाइडेनले अमेरिकालाई कस्तो राम्रो शक्ति बनाउने हुन् त्यो भाबी दिनले प्रष्ट पार्नेछ । सही घरेलु नीतिका अतिरिक्त धेरै कुरा बिश्वका शक्ति राष्ट्रहरु आजको बिश्व सन्दर्भमा खाशगरी चीनसँगको अमेरिकाको सम्वन्ध के कसरी अमेरिकाले बिन्यास र परिचालन गर्दछ धेरै कुरा त्यसमा भर पर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्