आजदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु



काठमाडौं। अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी मङ्गलबारदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ।

६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली मङ्लबार सार्वजनिक हुन लागेको हो।

डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरिरहेको उक्त प्रणाली पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो। विभागका अनुसार यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्र आबद्ध हुनेछन्।

भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका ४० वटा निकाय आबद्ध हुनेछन्। यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन्।

त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन्। यससँगै फरक फरक निकायलाई कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ।

अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ। गोरखापत्र दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्