रौतहटमा चिसोका कारण कठ्यांग्रिएर ११ को ज्यान मृत्यु



सैघाली खबर
काठमाडौं,२८ पुस


दुई साता लामो शीतलहरका कारण रौतहटमा चिसोले कठ्यांग्रिएर मर्नेको संख्या ११ पुगेको छ। ज्यान गुमाउनेमा ओढ्ने ओछ्याउने नभएका तथा सामान्य उपचारसमेत गर्न नसक्ने गरिब तथा दलित बस्तीका सर्वसाधारण छन्। जिल्लाका सबै भेगमा दुई सातादेखि बाक्लो हुस्सु र शीतलहर चलेको छ। विपन्न वर्गका मानिस चिसोले सबैभन्दा बढी प्रभावित भएका छन्। बालबालिका, दीर्घ रोगी, उच्च रक्तचाप, मुटुरोग तथा दमका रोगी चिसोबाट पीडित भएका छन्।

 

बुधबार राति मात्रै रौतहटमा कठ्यांग्रिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रौतहटको परोहा नगरपालिका ७ रामपुरखापका ६० वर्षीय रामलगनप्रसाद पटेल, गौर नगरपालिका ४ टिकुलियाका ७० वर्षीया सिया देवी र गढीमाई नगरपालिका ७ धनाडी टोलका भिक्षु हजामको कठ्यांग्रिएर मृत्यु भएको प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए।

 

केही दिनअघि परोहा नगरपालिका २ जिगडवाका ४५ वर्षीय शेख समिम, वडा ९ का ७० वर्षिया नसिरुल्लाह खातुन, ६५ वर्षीया मरठियादेवी कुर्मी, राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका ६४ वर्षका अकलप्रसाद सिंह, गढीमाई नगरपालिका १ समनपुरमा सञ्चालनमा रहेको इँटा उद्योगका मजदुर सर्लाही रामवनका ५५ वर्षीय नेक महम्मद अली, गढीमाई नगरपालिका ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर, गुजरा ७ प्रतापुर पल्टुवाकी फूलकुमारी देवी, दुर्गाभगवती ८ बडहर्वाकी सकली देवीको चिसोका कारण मृत्यु भएको थियो।

 

सरकारी तथा गैरसरकारी संस्थाले गरिब परिवारलाई न्यानो कपडा, कम्बल वितरण गरिरहेका छन्। दलित तथा गरिब बस्तीमा दाउरा तथा न्यानो कपडा नपुगेको पीडितको गुनासो छ।अत्यधिक चिसो बढेपछि रौतहटमा दुई साताअघिदेखि विद्यालय बन्द छन्।

 

चिसोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला दैवीप्रकोप उद्धार समितिले विभिन्न स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था गरेको छ।यस्तै बिहीबार रौतहटको चन्द्रपुर नपा ९ स्थित डुमरियामा रहेको मुसहरटोलका एक सय परिवारलाई कलाकार सीताराम कट्टेल धुर्मुसले कम्बल वितरण गरेका छन्। अतिविपन्न मुसहर परिवारलाई एक सय थान कम्बल वितरण गरिएको कलाकार कट्टेलले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्