नेत्री रामकुमारी झाँक्री प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा



काठमाडौँ।नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो। राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो।

हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफ्ना अभिव्यक्तिमा कुनै पनि पश्चाताप नभएको प्रतिक्रिया दिएकी छन्। उनले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने समेत उल्लेख गरिन्।

झाँक्रीलाई उनकै निवास शंखमूलबाट बिहीबार दिउँसो पक्राउ गरी महानगरीय अपराध महाशाखा, मीनभवन लगिएको थियो। उनलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।

झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई उनका कार्यकर्ताले अवरोध गरेका थिए। झाँक्रीले पनि पक्राउ पूर्जी नभइ गिरफ्तार गर्न नमिल्ने भनेकी थिइन्। त्यसपछि प्रहरीले उनलाई पक्राउ पूर्जी थमाएको थियो।

केही दिन पहिले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा आबद्ध महिला नेताहरूले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।

उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ। प्रचण्ड माधव समूहका नेता योगेश भट्टराईका अनुसार उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ परेको थियो।

झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी थिइन्। उनी पक्राउ परेको विरोधमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्