विप्लव, वैद्य लगायत ४ कम्युनिस्ट पार्टीले बनाए रणनैतिक संयुक्त मोर्चा



काठमाडौं । संसद बिघटन र ताजा जनादेशका लागि ओली सरकारले मध्यावधि निर्वाचन घोषणा गरेपछि उत्पन्न राजनीतिक उथलपुथलको अवस्थामा चारवटा क्रान्तिकारी पार्टीले माघ २९ गते काठमाडौंमा रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् ।

मोर्चामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी पार्टी नेपाल सहभागी रहेका छन् । घोषणामा वितरित विज्ञप्तिमा वर्तमान व्यवस्था दलाल पुँजीवादी व्यवस्था भएकाले यसबाट जनताका जनजीविकाका समस्याका साथै राष्ट्रियता र जनतन्त्रका समस्या हल हुन सक्ने छैनन् भन्ने ठहर यी चार पार्टीले गरेका छन् ।

हाल रणनीतिक संयुक्त मोर्चा निर्माणको घोषणा गरिरहेका यी चार पार्टीका नेताहरु यो मोर्चाले देशमा जनताको इच्छाअनुसार परिवर्तन ल्याउने कुरामा जोड दिइरहेका छन् । घोषणा कार्यक्रम मा बोल्दै वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले वर्तमान व्यवस्था दलाल पुँजीवादी व्यवस्था भएकाले यसले देश र जनताको सेवा गर्न नसक्ने बताएका छन् ।

उनले देशमा ठूल्ठूला युद्ध र आन्दोलनपश्चात् पनि दलाल पुँजीवादी व्यवस्था स्थापना गरिएकाले नेपाली राजनीतिले प्रतिगमनको बाटो लिएको खुलासा गर्न पुगेका छन्।

घोषणा कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता ऋषि कट्टेलले यो रणनीतिक मोर्चाले क्रान्ति र परिवर्तनका आँधीहुरीको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले नयाँ व्यवस्था मार्फत् रणनीतिक संयुक्त मोर्चाले देशलाई स्वाभिमान, स्वतन्त्र र समृद्ध बनाउने बताएका छन् । रणनीतिक संयुक्त मोर्चाले नेपाली आन्दोलनलाई नयाँ शिराबाट उठाउनेमा आफू विश्वस्त रहेको कुरासमेत् उनले व्यक्त गरेका छन् ।

घोषणा कार्यक्रमका मुख्य वक्ता तथा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले रणनीतिक संयुक्त मोर्चाले क्रान्तिको आवश्यकतालाई बोध गरेर अनेक चुनौतीका बीचमा पनि आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्ने कुरामा जोड दिएका छन् ।

यसले सच्चा क्रान्तिकारीलाई गोलबन्द गर्ने छ भन्दै शक्ति र संगठनका हिसाबले पनि यो अब्बल र क्रान्तिकारी हुने छ । उनले वर्तमान सत्ताको आयु सकिइसकेकाले यसले आफैलाई पनि धान्न नसकिरहेको र वर्तमान सत्ता संकट ओलीको महत्वाकांक्षा मात्र नभएर मक्किएको सत्ता ढल्ने लागेको संकेत भएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्