चितवन उपरदाङगढीको संरक्षणसम्बन्धमा नेपाली सेनाकाे तयारी तिब्र



फागुन ५ ,  चितवन।चितवन उपरदाङगढीको संरक्षणसम्बन्धमा नेपाली सेनाकाे तयारी तिब्र गरेकाे छ ।   भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढीको संरक्षणसम्बन्धमा स्थानीयवासीसँग छलफल गरेको हाे  । यससँगै सो क्षेत्रको सरसफाइ गरिएको छ । गणका निमित्त गणपति सेनानी पदमबहादुर क्षेत्रीका अनुसार यहाँबाट गएको नेपाली सेना र स्थानीय सरोकारवालाबीच मङ्गलबार उपरदाङगढी संरक्षणका विषयमा छलफल र सरसफाइ गरिएको हो ।

सो अवसरमा उपरदाङगढी रहेको इच्छाकामना गाउँपालिका–७ का वडाध्यक्ष बमबहादुर थापा, उपरदाङगढी संरक्षण समितिका अध्यक्ष झलक रानामगर, सचिव गणेशबहादुर थापा, बालकुमारी टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर गुरुङलगायतले उपरदाङगढीको ऐतिहासिक महत्वका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए। सो अवसरमा सेनानी वासु खत्री, विक्रम अधिकारीसहितको उपस्थिति थियो ।

सन् १९६० को दशकमा सो ठाउँ चितवनको सदरमुकाम रहेको थियो । पुरातत्व विभागका अनुसार यस क्षेत्रमा तत्कालीन समयमा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय रहेका थिए । तत्कालीन दाहाखानी गाउँ विकास समितिमा पर्ने सो स्थान सामुद्रिक सतहदेखि एक हजार २७५ मिटर उचाइमा रहेको छ । बाइसे–चौबीसे राज्य एकीकरणका समयमा अङ्ग्रेज फौजविरुद्ध युद्धको समयमा नेपालको रक्षाका लागि सन् १८०० को शुरुआतमा शत्रुभञ्जन शाहले सो गढी निर्माण गरेको बताइन्छ । सो स्थानमा तीन फिट चौडाइ तथा छ फिट उचाइ भएको प्रवेशद्वार, कोतघर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना छन् ।

ढुङ्गा, माटो र चुनबाट निर्माण गरिएको गढीको बाहिरी भागको मोटाइ तीन फिट छ । यस स्थलमा नौ वटा सेन्ट्रीपोष्ट, चारै दिशा तोप पड्काउने नौवटा खुला झ्याल बनाइएको छ । किल्लाको दक्षिणी भागमा भगवान् शिव र कालिकाको मन्दिरको भग्नावशेष रहेको इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले जानकारी दिनुभयो । गढीको प्रवेशद्वारमा गणेश मन्दिर रहेको छ । बज्रयोगिनी, बालकुमारी देवीको मन्दिर पनि सँगै छ । नेपाली सेनाले गढीहरुको संरक्षण गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्