अबको प्रधानमन्त्री देउवा कि नेपाल ?



थाहा समाचार विश्लेषण । लामो बहसपछि आज मात्र सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा फैसला गरेको छ । अबको १३ दिनभित्र संसदको पुनर्स्थापना गर्ने परमादेश सहितको आदेश सर्वोच्च अदालतले दिएसँगै नेपालको राजनीतिको सुईले १८० डिग्रीको फन्को मारेको छ ।

आगामी १३ दिनभित्रको राजनीतिले कस्लाई सत्ताको मालिक बनाउला ? त्यो भने केही दिन पर्खनु पर्छ तर भित्रभित्रै सत्ताको खेलको खिचडी भने पाक्न सुरु भइसकेको छ । अदालतको आजको फैसलाबाट नेकपाको दाहाल नेपाल समूह र संसद पुनस्थापनाको पक्षमा आन्दोलनरत दलहरु खुसी भएका छन् भने सरकार चलाइरहेको ओली समूह भने निरास भएको छ ।

आजको फैसलारुपी परमादेश आउनुको पछाडी निकै ठूलो राजनीतिक खेलले काम गरेको छ । राष्ट्रिय राजनीतिमा जोजो र जस्ताजस्ता खेलाडीहरु देखिएपनि यसको अन्तर्यमा भने विदेशी राजनीतिको ठूलो प्रभाव रहेको छ । कुरा स्पष्ट के छ भने ओलीले आफूले भनेको नमान्ने भएपछि भारत ओलीसित रिसाएको थियो र ओलीलाई जसरी भएपनि सरकारबाट हटाउनु थियो ।

त्यसका लागि भारतले ओलीकै पार्टीमा फुट पारेर उनका विरुद्ध अवश्वासको प्रस्ताव ल्याउन लगायो । त्यो कुरा थाहा पाएका ओलीले संसद नै भंग गरिदिए । अनि दाहालनेपाल र अन्य दलहरु सडकमा गए । ओलीलाई फाल्ने मौका भारतलाई मिल्यो । त्यसैबीचमा सर्वोच्चमा परेका संसद भंग विरुद्धका रिटहरुमा जति बहस लम्बिंदै गए त्यति अदालतलाई दबाव पर्दै गयो ।

अन्ततः अदालतले आज संसद पुनस्थापना गर्नु भन्ने आदेश दियो । यस आदेश अनुसार अब १३ दिनभित्र संसदको बैठक बोलाइने छ र संसद सुचारु हुनेछ । सुचारु भएको संलदमा प्रम ओलीका विरुद्ध अविश्वासको प्रस्ताव लगिनेछ । त्यसका विरुद्ध हुने मतदानमा ओलीले बहुमत सावित गर्न सक्ने छन् कि छैनन् ? सायद सक्ने छैनन् । त्यो भयो भने सरकार बनाउने अर्को प्रकृया सुरु हुनेछ ।

अनि कस्को सरकार बन्छ ?

नेपालको अबको राजनीतिमा सरकार सञ्चालनका हिसाबले २ ओटा लाइन स्पष्ट देखिन्छन् । अब कि शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन् कि माधव नेपाल प्रधानमन्त्री हुन्छन् ।

कसरी ?

१.देउवा प्रधानमन्त्री हुनेछन् र ओली समूह र बाबुराम (जसपा) सहितको समर्थन रहनेछ । २.कि माधव नेपाल प्रधानमन्त्री हुनेछन् र जसपा र फुटेको कांग्रेस (रामचन्द्र पौडेल समूह)को समूहले समर्थन गर्नेछ । यसरी सरकारको संरचना बन्ने सम्भावना देखिन्छ ।

यो संरचनालाई विश्व राजनीतिको लाइनसित जोडेर हेर्दा देउवा प्रधानमन्त्री बन्नका लागि अमेरिकाको समर्थन जरुरी पर्छ भने माधव नेपाल प्रधानमन्त्री बन्नका लागि भारतको समर्थन चाहिन्छ । यसरी विश्व राजनीतिको असर नेपालमा पनि देखा पर्दछ । यति भएपछि बैसाखमा चुनाव हुने सम्भावना टरेर गएको छ ।

र फेरि नेपालको संसदीय व्यवस्थामा सत्ताको फोहोरी खेल सुरु भएको छ । यसरी सरकारमा आइरहने फेरबदल र सत्ता सञ्चालकहरुको अदलबदलले भने जनतामा सकारात्मक होइन बरु नकारात्मक असर देखाउने छ । यी सबै खेलहरुले जनतालाई फाइदा छैन । किनकि देशको विकास गर्न र जनताको जीवनस्तर उकास्नका लागि यस्ता खेलहरु भएका होइनन् ।

सरकारमा जाने र कमाउने भन्दा अरु खासै फरक पर्ने देखिन्न । यो अदलबदले नेपाली युवा विदेश जानेक्रम रोकिने छैन । मजदूरले रोजगारी पाउने छैनन् । मलको भाउ घट्ने छैन । शिक्षा निःशुल्क हुने छैन । स्वास्थ्य उपचारका लागि मानिस भारतकै भर पर्नुपर्नेछ । जक कि जनताको जीवनमा परिवर्तन ल्याउँदैन भने तयस्तो राजनीतिप्रति जनताको के चासो ?

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्