ओलीका सबै सांसद हामीतिर फर्कन्छन् : माधव नेपाल



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक सुरु भएको छ। बुधबार अपरान्ह नेकपाको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा सुरु भएको हो।बैठकमा सुरुमै अध्यक्ष माधवकुमार नेपालले आफ्ना धारणा राखेका छन्। उनले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजित हुँदा ओलीतर्फ लागेका सांसदहरुमध्ये ठूलो संख्याका सांसदहरु आफूहरुतर्फ आउन चाहेको बताएका थिए।

नेता नेपालले उनीहरुप्रति कुनै पूर्वाग्रह नराख्न त्यहाँ उपस्थित सांसदहरुसँग आग्रह गरेका थिए। उनले भनेका छन्, ‘ओलीतिर लागेका धेरैजना सांसदहरु आउनेछन्, उहाँहरुलाई गर्ने मान सम्मानमा कुनै कमी नगर्नुहोस्, उहाँहरुको शरीर उता भए पनि मन यतै छ।’

संसदीय दलको बैठक अघि नेकपाको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठक पेरिसडाँडामा बसेको थियो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संविधान अनुसार अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ।बैठकका निर्णयबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने संविधान अनुसार नै प्रक्रिया अघि बढाउने हाम्रो निर्णय छ।’ स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेको छ।

‘सर्वोच्चको फैसलाले प्रतिनिधसिभाको मात्रै होइन, संविधान र लोकतन्त्रको रक्षा गरेको छ। राजनीति अध्यारो सुरुङमा जाने खतराबाट बचाउन अदालतले सहयोग गरेको छ,’ श्रेष्ठले भने। बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध संघर्षमा सक्रिया भएका सबै दल र आफ्ना कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्