जसपालाई प्रचण्ड–नेपालद्वारा सहकार्यको प्रस्ताव



काठमाडौं। नेकपाको प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)लाई सरकार गठनमा सहकार्यका लागि प्रस्ताव गरेको छ। सर्वोच्च अदालतले मंगलबार संसद् विघटनलाई बदर गरेपछि नयाँ सरकार गठनका लागि कसरत गरिरहेको प्रचण्ड–माधव समूहले बिहीबार जसपासँग पनि छलफल गरेको हो ।

जसपाले संविधान निर्माण गर्दादेखि नै आफूहरूसँग धोका भएको भन्दै जसपाले पार्टीमा छलफल गर्ने जवाफ दिएको छ। नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेकपाको पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए।

‘संविधानमा भएका त्रुटि सच्याउनुपर्नेछ, रेशम चौधरीलगायत बन्दी रिहाइ गर्नुपर्नेछ र हामीले सुरुदेखि नै उठाइरहेका विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने हुन्छ,’ वरिष्ठ नेता महतोले भने, ‘सरकारमा जाने विषय मात्रै प्राथमिकतामा राखेर हुँदैन।

यी सबै विषयलाई एकसाथ कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा हामी पार्टीको बैठकमा छलफल गरौँला भनेका छौँ।’ जसपा नेताहरूले प्रचण्ड र नेपाललाई पार्टीको आधिकारिकताको विषय नटुंग्याईकनै बाँकी विषयमा छलफल गर्न गाह्रो हुने बताएका थिए। ‘उहाँहरूले सहकार्यका लागि प्रस्ताव गर्नुभयो। हामीले तपाईंहरूको पार्टी कुन हो, अलमलमा परियो, प्रस्ट हुनुस् भन्यौँ,’ महतोले भने।

महतोले संविधान जारी गर्दा पनि आफूहरूमाथि दमन गरिएको विषय प्रचण्ड–नेपालसामु राखेको बताए। ‘त्यसै पनि हामीले पटक–पटक धोका खाएका छौँ। संविधान पनि गोलीबारी गरेर जारी गरिएको थियो।

त्यतिवेला कांग्रेस, एमाले र माओवादीले जति पनि सम्झौता गरेका थिए, ती सबैलाई इन्कार गर्दै अन्तरिम संविधानबाट पनि पछाडि गएर संविधान जारी गरिएको थियो। त्यो पनि प्रतिगमन नै थियो,’ महतोले भने, ‘हामी त्यो विषयलाई बिर्सिन सक्दैनौँ । रेशम चौधरीलगायत कैयौँ हाम्रा साथीहरू अहिले पनि बन्दी जीवन बिताइरहेका छन्। यी विषय समाधान नगरी सहकार्यको मात्रै प्रश्नमा छलफल गर्ने विषयले अर्थ राख्दैन।’ नयाँ पत्रिकाबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्