पार्टी फुटाउन प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आव्हान



फागुन १४ ,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्रीलाई राजीनामा दिने दबाव परेको छ। तर, उनी राजीनामाको मुडमा देखिएका छैनन्।

अदालतको आदेशअनुसार फैसलाको मितिले १३ दिनभित्र अर्थात् फागुन २४ गतेभित्र राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान हुनेछ। अधिवेशन आह्वान भएसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्नेछ। मन्त्रिपरिषद्को बैठकमा पछिल्लो घटनाक्रमको विषयमा र भावी रणनीतिको विषयमा छलफल हुने बुझिएको छ।

मंगलबार ११ गते सर्वाेच्च अदालतले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको थियो। योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न आदेश दिएको थियो।

स्रोतका अनुसार अर्कातिर प्रधानमन्त्री ओलीले नेकपाको राजनीतिक भविष्य र आफ्नो दल निर्माणका लागि दल विभाजनसम्बन्धि अध्यादेशबारे पनि बैठकमा छलफल गराउन सक्नेछन्।बैशाख ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी थिइन्। ८ गते नै बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेकी हुन्।

सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानूनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो। मन्त्रिपरिषदले उक्त अध्यादेश पारित गरेको केही घण्टा  नबित्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्। सरकारले चौतर्फी विरोध भएपछि बैशाख ८ गते जारी गरेको दुवै विवादास्पद अध्यादेश बैशाख १२ गते फिर्ता लिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्