ईश्वर पोखरेलले उठाए मनमोहन अधिकारीको प्रसंग



काठमाडौं । ओली पक्षीय नेता ईश्वर पोखरेलले नेकपाकै प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालमाथि प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको बारे प्रश्न उठाएका छन् । तत्कालीन मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले संसद भंग गर्दा अदालतले पुनःस्थापना गरिदिएको घटना नेपाललाई ओली समूहका नेता पोखरेलले स्मरण गराएका हुन् ।

उनले शनिबार साज ट्वीट गर्दै,‘ताजा जनादेशका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो ।’

त्यतिबेला एमालेले अदालतको निर्णयविरुद्ध सडक आन्दोलनको नेतृत्व नेपालले गरेको थियो । उनले यस्तो पृष्ठभूमिसित गाँसिएका नेपालले समेत नैतिकताको हवाला दिएको भन्दै प्रश्न उठाए ।

‘यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन् । यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ?’ पोखरेलको प्रश्न छ । संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति भन्दै उनको थप प्रश्न छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्