प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द ’विप्लव’ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ’विप्लव’ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन्। आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा सरकार र विप्लव नेकपाबीच बिहीबार भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताए।दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन्।

यस्तै, सहमतिअनुसार आजदेखि पक्राउ परेका विप्लव नेकपाका नेता कार्यकर्ता पनि रिहा हुँदै छन्। सरकार र विप्लव समूहबीच दुई दिनसम्म भएको वार्तापछि सहमति भएको हो। विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

प्रहरीको तथ्यांक अनुसार वि.सं.२०७५ फाल्गुन १० गतेदेखि २०७७ मङ्सिर २८ का बीचमा सो नेकपाका झण्डै २ हजार नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। त्यसमध्ये झन्डै १ हजार ९०० लाई मुद्दा दायर गरिएको छ। एक सय भन्दा बढी पूर्पक्षका लागि कारागारमा रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्