निर्वाचन आयोगद्वारा पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउने तयारी



फागुन २४ , काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ ३ गते भएको एकीकरण नै खारेज गरिदिएपछि अब निर्वाचन आयोगले ती दुई पार्टीलाई ब्युँताउनु पर्ने भएको छ । आइतबार सर्वोच्चले आदेश दिएको केही घन्टामै उक्त फैसला आयोगमा पुगेको र दर्ता भइसकेको आयोगले जानकारी दिएको हाे ।

फैसला दर्ता भएसँगै निर्वाचन आयोगले पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउने प्रक्रिया पनि थाल्ने भएको छ। सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विदा परेकाले यो प्रक्रिया मंगलबारदेखि सुरू हुनेछ। सर्वोच्चको आदेशअनुसार पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउन आयोगमा ती नाम खाली हुनुपर्छ। अहिले नेकपा एमाले र माओवादी केन्द्र अर्कैका नाममा दर्ता भएकाले पूर्वएमाले र माओवादी केन्द्रलाई ब्युँताउन अहिले दर्ता भएका पार्टीको नाम परिवर्तन गर्नु पर्नेछ। आयोग उच्च स्रोतका अनुसार अहिले ती पार्टी आफ्नो नाममा दर्ता गरेका र पूर्वएमाले र माओवादी केन्द्रलाई मंगलबार नै पत्र पठाउने तयारी छ।

तत्कालै ओली नेतृत्वको नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी अस्तित्वमा आए र माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो भने प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्छ।

पूर्वएमाले ब्युँतिएर प्रधानमन्त्री ओलीले विश्वासको मत लिए भने  तत्कालीन एमालेका १२० सांसदलाई आफ्नो पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्छन्। ह्वीप नमान्ने सांसदलाई  कारबाही गर्न सक्छन् किनकी पूर्वएमालेको केन्द्रीय समितिमा ओलीको बहुमत छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्