‘नरहे बाँस नबजे बाँसुरी’ हुनबाट देश कसरी जोगाउने ?



नेपालको भौगोलिक अवस्थिति, युरेनियम लगायतका अमूल्य र असीमित खनिज, अथाह जलसम्पदा, बहुमूल्य वनजङ्गल र जडिबुटी, अवर्णनीय मनमोहक प्राकृतिक सुन्दरता र प्राचीनतम ज्ञान–विज्ञान, कला–संस्कृति र सभ्यता–संस्कार आदि कैयौं कुराहरु नेपालका अमूल्य निधि र असीमित प्रकृतिप्रदत्त कुराहरु उज्ज्वल सम्भावनाका श्रोतहरु हुन् । यी कुराहरु नेपालको नाम, दाम र कामका आधारभूत पर्याय पनि हुन् जो प्राकृतिक वरदान नै हुन् । तर यिनै कुराहरु नेपालका लागि समस्या र चुनौतीका अजङ्गका पहाड पनि भएका छन् ।

स्वछ र स्वाभिमानी, असल र सफल अनि देशभक्त र विकासप्रेमी नेपाली नेता (शासक) हरुका लागि उक्त कुराहरु गर्व र गौरवका, सान र मानका अनि विकास र समृद्धिका महाश्रोत हुन् भने मूर्ख र मखण्डी, दास र दलाल अनि भ्रष्ट र दुष्ट नेता (शासक) हरुका लागि भने भिल्लका देशका मणि वा अझ भनौं भष्मासुरको शक्ति हुन गएका छन् ।

अर्को शब्दमा भन्ने हो भने नेपालका उपरोक्त असीमित सकारात्मक प्राकृतिक श्रोत र सम्भावनाहरु ज्ञानी सज्जनका लागि श्रृखण्ड र अज्ञानी दुर्जनका लागि खुर्पाको बिंड भनेजस्तै भएका छन् । अथवा यसो भनौं कि यहाँका परमुखापेक्षी र परजीवी, गलत र गद्दार वा भ्रष्ट र भाट नेता (शासक)हरु नै यो देशका मुख्य र वास्तविक चुनौती हुन् । यो कुरा वर्तमानका घटनाक्रमहरुबाट समेत पुष्टि भएको छ ।

दुईतिहाई बहुमतको सरकार बनाएको देशकै सबैभन्दा ठूलो पार्टी नेकपाका शीर्ष नेताहरु नै आपसी व्यक्तिगत स्वार्थपूर्तिको लागि खिचातानी, गालीगलौज, गुट उपगुट र कुटाकुटमा लागेपछि अहिले कम्युनिस्ट पार्टी र आन्दोलन टुटफुट, विभाजन र विसर्जनतिर गएको छ । तर अन्य पार्टीहरु र तिनका नेताहरु भने सत्तास्वार्थ पूर्तिको अकल्पनीय अवसर प्राप्त भएकोमा हर्षोल्लास मनाउँदै नेकपाकै एउटा वा अर्को गुट ओलीको एमाले वा प्रचण्डको माओवादी केन्द्रसित मिलेर सरकार बनाएर खाइ नै हाल्ने भनी दौडधुप, भेटघाट, साँठगाँठ, वार्ता–छलफल, दलाली चाकरी, हारगुहार, जालझेल, छलकपट र साजिस षड्यन्त्रमा जुटेका छन् ।

पार्टी र नेताहरुका यसप्रकारका हर्कतहरुलाई बाँकी नेता–कार्यकर्ताहरु पनि आहा र आँआँ गर्दै ताली पिट्नेमा लागेका कारण अब पार्टी मात्र विचलित, विकृत, विघटित र विसर्जित हुने नभएर देश समेत अस्थिरता, अराजकता, अशान्ति, अकर्मण्यता र अस्तव्यस्तता जस्ता चुनौतीहरुको चक्रब्यूहमा पुनः फसेको छ । फलस्वरूप साम्राज्यवादी–विस्तारवादी साँढेहरुलाई नेपालको छातीमाथि डुक्रिने र उफ्रिने अनि देशै टुक्रिने चरम खतरा समेत बढेको छ ।

यति मात्र पनि होइन, यसरी देस टुक्राटुक्रा पारेपछि त साम्राज्यवादी–विस्तारवादीहरुको लागि नेपालको अस्तित्व नै समाप्त हुने गरी नेपाल निल्न सजिलो हुनेछ । यति भएपछि त अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादी प्रतिक्रियावादीहरुको लागि नेपाल नै नरहेमा एकातिर ‘नरहे बाँस न बजे बाँसुरी’ भने झैं हाइसन्चो हुनेछ भने अर्कातिर तिनीहरुद्वारा दुष्ट दुश्मन राष्ट्र भनिएको हाम्रो घनिष्ठ छिमेकी सच्चा मित्रराष्ट्र चीनलाई समेत घेर्न र फोर्न अनि डोमिनेट (दबाउन) र डिस्ट्रोए (नष्ट गर्न) गर्न सहज हुनेछ ।

यसरी उनीहरुलाई विश्वभरी एकलौटी शासन र कासन गरेर मोजमस्ती मिल्ने सुनौलो अवसर प्राप्त हुनेछ । तर यो कुरा उनीहरुको दिवास्वप्न मात्र हो । कथं त्यो सपना पूरा भैहालेछ भने पनि साम्राज्यवादी–विस्तारवादीहरुको त्यो लूटको साम्राज्य भएकोले धेरै दिन त कुनै हालतमा टिक्ने छैन ।

त्यसैले इतिहासमै यस्तो सर्वाधिक गम्भीर र संवेदनशील आजको यो अवस्थामा देश र विदेशमा छरिएर र भौंतारिएर रहेका सम्पूर्ण सच्चा देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील, अग्रगामी र क्रान्तिकारी नेपालीहरु एकजुट र एकमुख भै साम्राज्यवादी–विस्तारवादी र तिनका दास, दलाल र दुष्ट नेपाली नेता (शासक)हरुका विरुद्ध विद्रोहरुपी बज्र बनेर विष्फोट हुनु अत्यन्त जरुरी भएको छ ।

अन्यथा पश्चात्ताप बाहेक अरु केही पाइने छैन । तसर्थ समयमै सचेत भई मोर्चावद्ध र एकतावद्ध हुँदै सशक्त खबरदारी गरौं । र, निर्णायक हस्तक्षेपद्वारा उपरोक्त गम्भीर चुनौतीहरु चिर्दै प्राप्त सुनौला सम्भावना र अवसरहरुलाई सार्थक र सदुपयोग गरौं ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्