आफ्नो निवासमा प्रचण्डले रोपे तरकारी



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तरकारी रोपेका छन्। अध्यक्ष प्रचण्डले आफ्नो निवास खुमलटारमा शुक्रवार बिहान तरकारी रोपेका हुन्।

निवासको कम्पाउन्ड भित्र खालि रहेको जमिनमा आधुनिक पद्धतिबाट तरकारी रोपेका हुन्। प्रचण्डको सचिवालयका अनुसार उनले काँक्रा, गोलभेँडा, काउली लगायतका तरकारी रोपेका छन्। आँगनमा बाँकी रहेको जमिनमा परिवारका सदस्य र सचिवालय सदस्यहरूको उपस्थितिमा प्रचण्डले तरकारी रोपेका हुन्।

आधुनिक पद्धतिबाट आफ्नो आँगनमा अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यले तरकारी रोपेका हुन्। खालि ठाउँको भरपुर उपयोग गरी अर्ग्यानिक तरकारी उत्पादन गर्नेतर्फ सबै लाग्नु पर्ने उनको भनाई छ। उपलब्ध जमिनमा र खालि ठाउँमा आधुनिक पद्धतिमा तरकारी रोपेर अर्गानिक तरकारी उत्पादनमा उत्प्रेरणा हुने विश्वास लिइएको छ।

काठमाडौं उपत्यकामा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न कौसी खेतीको प्रचलन बढ्दै गएको छ। यसबारेमा सरकारी कृषि अनुसन्धान निकायदेखि निजी क्षेत्रका व्यावसायिक संस्थाले नयाँ प्रविधि र शैलीको विकास गर्दै आएका छन्। सरकारले पनि जमिनको भरपुर उपयोग गर्नुपर्ने नीति पनि लिएको छ।

विशेष गरी कौसीमा भाँडा गमला, फ्रेम, जार, माछाको क्यारेट, आधुनिक ब्यागमा तरकारी फलाउन सकिन्छ। घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरुवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तै कोकोपिट, माटो वा प्राङ्गरिक मलको मिश्रण राखी खेती गर्ने गरिएको छ। आँगनमा उपलब्ध जमिन र कौसिमा गोलभेँडा, भण्टा, भेडे खुर्सानी, खुर्सानी, स्वीसचार्ड, रायो, करेला, काँक्रो, लौका, घिरौँला, काउली, बन्दा, ब्रो-काउली लगायतका तरकारी रोप्न सकिन्छ।

कृषिप्रधान देश नेपालमा कृषि क्रान्तिको विभिन्न योजना बनाएर काम भइरहेका छन् । यसरी कृषि क्षेत्रमा संलग्न नेपालीहरूलाई प्रोत्साहन हुने र आफूबाट कृषि कर्म सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ अध्यक्ष प्रचण्डले आँगनमा तरकारी रोपेको उनको सचिवालयले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्