पठाओका संस्थापकको हत्यारा पत्ता लाग्यो



काठमाडौं। राइड शेयरिङ कम्पनी पठाओका संस्थापक फहीम सालेहको हत्याकाण्डको रहस्य पुलिसले सुल्झाएको छ । मंगलबार आफ्नै अपार्टमेन्टमा हत्या गरिएको सालेहको हत्या उनका आफ्नै असिस्टेन्टले गरेको पुलिसले जनाएको छ । पुलिसले शुक्रबार सालेहका असिस्टेन्ट टायरिस हास्पिललाई पक्राउ गरेको छ । बीबीसीको रिपोर्टअनुसार हास्पिलले अपराध स्वीकार गरेका छन् ।

अनुसन्धानमा हत्याको कारण हजारौं डलर ऋण भएको खुलेको छ । आरोपी हास्पिलले सालेहसँग हजारौं डलर ऋण लिएका थिए र उनी यो रकम फिर्ता दिन चाहँदैनथे । पुलिसका अनुसार हास्पिल २ वर्ष पहिले सालेहकहाँ काम माग्न आएका थिए । त्यपछि उनी सालेहको नजिक भए । सालेहले उनलाई असिस्टेन्ट बनाए । केही समयपछि हास्पिलले सालेहसँग अलग अलग कारण बताएर सापटी लिन सुरु गरे । यो रकम हजारौं डलर पुग्यो । सालेहले हास्पिलसँग यो पैसा फिर्ता मागेपछि हास्पिलको नियत बदलियो । उनले सालेहलाई नै मारिदिने योजना बनाए ।

मंगलबार दिउँसो हास्पिल सालेहसँगै उनको अपार्टमेन्टमा गएका थिए । त्यहाँ उनले रडले सालेहको टाउकोमा प्रहार गरे । बेहोस भएपछि सालेहको हत्या गरिदिए । इलेक्ट्रिक आरीले लाशको टुक्रा पारे । लाशका टुक्रालाई छुट्टाछुट्टै प्लास्टिकको झोलामा हाले । हास्पिल प्रमाण मेटाउन यी टुक्रालाई अन्यत्रै लगेर फाल्न चाहन्थे । तर, यही बेला सालेहकी बहिनी उनलाई भेट्न अपार्टमेन्ट पुगिन् । डोरबेलको आवाज सुनेपछि हास्पिल पछाडिको ढोकाबाट भागे । उनलाई सुरक्षा गार्डले पनि देखेका थिए तर मास्क लगाएका कारण चिन्न सकेनन् ।

सालेहले नाइजेरियाको एक राइडिङ र डेलिभरी एप कम्पनी गोकाडाका सीइओ थिए । यसका अलावा बंगलादेशमा संचालित यस्तै किसिमको कम्पनी पठाओका पनि उनी सीइओ थिए । पठाओले २ वर्षअघि सन् २०१८ मा नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको थियो । उनी युवा र धनी व्यवसायीमा गनिन्थे । उनलाई विकाशशील देशका एलन मस्क भनिन्थ्यो । जुन अपार्टमेन्टमा उनको हत्या भयो त्यसको मूल्य करिब २२ लाख डलर बताइएको छ ।

सालेहका मातापिता बंगलादेशी थिए र साउदीअरेबियामा बस्थे । सालेहको जन्म साउदी अरेबियामै भएको थियो । पहिले सालेह न्यूयोर्क गएका थिए त्यसपछि बाँकी परिवार पनि न्यूयोर्क गए । ट्वीटरमा सालेहले आफ्नो स्टार्टअप कम्पनी गोकाडासँग सम्बन्धित प्रेरक घटनाहरु शेयर गर्थे ।

सालेहले २०१५ मा बंगलादेशमा पठाओ सुरु गरेका थिए । त्यसपछि २०१८ मा उनले पठाओको सेवा नेपालमा विस्तार गरे । २०१८ मै उनले नाइजेरियामा यस्तै किसिमको कम्पनी गोकाडा सुरु गरे । पछि उनले गोकाडालाई डेलिभरी सर्भिस पनि बनाएका थिए । त्यही वर्ष उनले क्यापिटल फर्म एडभेन्चर सुरु गरे र किकब्याक एप्सको सीइओ पनि बने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्