प्रतिपक्षी दलको अवरोधपछि वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित



काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अवरोधपछि वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेशसभाको बिहीवार बसेको बैठकमा प्रदेश सरकारले कार्यविधि, मापदण्ड र पूर्वाधारबिना नै विद्युतीय बस खरिद गर्नु अघि चार्जिङ सेन्टर लगायतका विषयमा प्रकृया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा उचित जवाफ माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गरेका थिए।

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले दिएका थिए। सांसद बुद्धिमान माझीले सरकारलाई रचनात्मक सुझाव दिँदा पनि सरकार निरंकुश ढंगबाट चल्न खोजेको बताए।

त्यसलगतै माओवादीका सांसदहरु उठेर संसद अवरुद्ध गरेका थिए। सभामुख सानुकुमार श्रेष्ठले बस्नका लागि अनुरोध गरेपनि माओवादी संसदले अवरोध कायमै राखेपछि श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए। यसअघि, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशिलका रमेश पौड्याल, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाकी रिता माझी, रिना गुरुङले सरकारको कामको चर्को विरोध गरेका थिए।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रतिपक्षी दल नेकपा माओवादीको समर्थन गर्दै देशमा कोरोना महामारी र प्राकृतिक प्रकोपको घटनाका पीडितहरुले सरकार खोजीरहेको बेलामा प्रदेशका जनताले सरकार भएको महसुससमेत गर्न नपाएको आरोप लगाए। उनले निजी कम्पनीहरुसँग प्रतिस्पधा गर्न नसकेका सरकारी स्वामित्वको उद्योगहरुको व्यवस्थापनमा लाग्नुको सट्टा सरकारले निर्माण कम्पनी खोलेर भ्रष्टाचारलाई प्रसय दिन खोजेको बताए।

नेता बानियाँले कोरोना महामारीले थलिएको देशका जनताले सरकारको आभाससमेत गर्न नपाएको भन्दै सरकार आफ्ना मन्त्री र कार्यकर्ता पोस्नमा व्यस्त रहेको आरोप लगाए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्