वैदेशिक रोजगारमा जाने व्यक्तिले जान्नैपर्ने कुराहरु



काठमाडौं । नेपालमा वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। कैयौंले प्रक्रिया नपुर्‍ याई विदेश जाँदा ठगिनेसमेत गरेका छन्। तसर्थ, यहाँ विदेश जान चाहने व्यक्तिले जान्नैपर्ने केही कुराहरु उल्लेख गरिएको छ ।

१. उमेर र विवरणः १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारको प्रक्रिया अवलम्बन गर्नुपर्छ। रोजगारमा जानेक्रममा झुटा विवरण वा कागजात पेश गर्नु हुँदैन।

२. संस्थागत पहलः वैदेशिक रोजगारको निमित्त अनुमति प्राप्त गरेका एजेन्सीहरुसँग मात्र वैदेशिक रोजगारमा जाने सम्बन्धी कारोबार गर्नुपर्छ। संस्थासँग व्यक्तिगत तवरले जाने गरी काम कारबाही गर्नु हुँदैन। व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जान चाहनेले वैदेशिक रोजगार विभागको स्वीकृति प्राप्त गर्नुपर्छ।

३. आवश्यक प्रमाणहरु सुरक्षित राख्नुपर्नेः वैदेशिक रोजगारको निमित्त जाने क्रममा वैदेशिक रोजगार एजेन्सीलाई रकम बुझाएपछि रसिद लिई सुरक्षित राख्नुपर्छ। वैदेशिक रोजगारका निमित्त एकमुष्ट वा किस्तामा रकम बुझाएको भएमा कुन किस्ता बापत कति रकम बुझाएको हो, सोसमेतको निस्सा लिनुपर्छ। बुझाएको रकम र प्राप्त रसिदमा रकम फरक परे, नपरेको यकिन गरी गरी वास्तविक तिरेको रकम जनाएको रसिद लिनुपर्छ। रसिदमा सम्बन्धित एजेन्सीको छाप भए, नभएको र बुझिलिनेको दस्तखत भए, नभएको जाँची लिनुपर्छ।

राहदानी, भिसा, श्रम स्वीकृति, करारपत्र, तालिमहरुको प्रमाणपत्र, रकम बुझाएको रसिदहरु, बिमा, स्वास्थ्य परीक्षण आदिको कागजात आफूसँग सुरक्षित राखी त्यसको फोटोकपी घर परिवारका व्यक्तिहरु वा भरपर्दो अभिभावकलाई छोड्नुपर्छ।

४. तालिम तथा सुरक्षाः वैदेशिक रोजगारमा जाने कामको लागि कुनै सीपमूलक तालिम आवश्यक भए त्यस्तो तालिम लिएको हुनुपर्ने र मान्यता प्राप्त संस्थाबाट अभिमुखीकरण तालिम हासिल गर्नुपर्छ।

वैदेशिक रोजगारमा जाने क्रममा गर्नुपर्ने बिमा तथा कल्याणकारी कोषमा अनिवार्य रुपमा रकम जम्मा गर्नुपर्छ। एजेन्सी वा कोही कसैबाट वैदेशिक रोजगार सम्बन्धी विषयमा गलत वा ठगी गर्न लागेको शंका लागेमा वा त्यसो भए गरेमा वैदेशिक रोजगार विभाग वा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरीमा तुरुन्त खबर गर्नुपर्छ।

वैदेशिक रोजगारमा जाने व्यक्तिले अनुमति लिएको अवस्थामा बाहेक अन्य मुलुकको मार्ग प्रयोग गरी वैदेशिक रोजगारमा जान हुँदैन। वैदेशिक रोजगारको निमित्त विदेश प्रस्थान गर्नुपूर्व वैदेशिक रोजगार विभागबाट राहदानीमा श्रम स्वीकृतिको स्टिकर लगाएको हुनुपर्छ।

५. पूर्वतयारीको अवलम्बनः वैदेशिक रोजगारमा जाने नेपालीले अनुमतिको अवधि पश्चात् नियमानुसार म्याद थप नगरी अवैधानिक रुपमा विदेशमा बस्न वा काम गर्न हुँदैन। वैदेशिक रोजगारको क्रममा भएको सम्झौताअनुसारको अवधिभित्र करार भंग नभएसम्म उक्त कार्य छाडि अन्यत्र काम गर्न वा बिनास्वीकृति काम छाडि अन्यत्र जान हुँदैन।

६. क्षतिपूर्तिः कुनै कारणले विदेशबाट असमयमा फर्कनुपरेमा वैदेशिक रोजगार विभाग र पठाउने एजेन्सीमा फिर्ता आएको १५ दिन भित्रमा जानकारी गराउनुपर्छ।

७. विदेशमा सम्पर्क र समन्वयः नियमअनुसार वैदेशिक रोजगारमा गएपछि उक्त मुलुकमा रहेको नेपाली दूतावास वा नियोग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको सम्बद्ध संस्थामा सम्पर्क कायम गरी आफू आएको जानकारी गराउनुपर्नेछ। वैदेशिक रोजगारको क्रममा समस्या आएको अवस्थामा उक्त निकायमा जानकारी गराउनुपर्नेछ।

८. वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानु हुँदैन। श्रम स्वीकृति नलिई कामका लागि विदेश जान पाइँदैन।

९. वैदेशिक रोजगारमा जानुपूर्व अभिमुखीकरण तालिम लिनुपर्छ र जान लागेको देश, आफूले गर्ने काम र पाउने पारिश्रमिकबारे राम्ररी जानकारी लिई जानुपर्छ।

१०. स्वास्थ्य परीक्षण, जीवन बिमा, दुर्घटना बिमा विदेशमा काम गर्न जानुपूर्व अनिवार्य रुपमा गर्नुपर्छ। यसरी मात्र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सकिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्