नेपाललाई भेटेपछि ओलीको प्रतिक्रिया : अनुशासनहीनतासँग सम्झौता गर्दैनौं



काठमाडौं। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्। एमाले पार्टी कार्यालयको शिलान्यासका लागि बल्खु पुगेका ओलीले पार्टीमा समानान्तर गतिविधि गरिरहेको नेपाल समूहलाई लक्षित गर्दै अहिले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए।

ओलीले नेता माधवकुमार नेपालसँग बुधवार दुई घण्टा ‘वान टु वान’ कुराकानी गरेका थिए। ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने प्रस्ट पारेका हुन्। ‘हामी सम्झाई बुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारबाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं ।’

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई ओलीले अराजकता भनेका छन्। उनले पार्टी विरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन्। ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरु डोरी चुँडिएला कोही कतै जाँदैन।’

उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्। ‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौँ। तर यसलाई कसैले कमजोरी नठानियोस्,’ उनले भने।

ओलीले केही नेताहरूले आफूमाथि संगठितरुपमा हमला गरेको पनि बताए। उनले भनेका छन्, ‘केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने, संक्रिर्ण प्रवृत्तिले संगठित हमला गरे। त्यो संगठित हमलाको सिलसिला कति निर्मम थियो। शासनमा भएका भए के गर्थे होलान् ? नहुँदा त यस्तो छ। म माथिबाट हमला सुरु भयो। साधारण सदस्यबाट हटाउने काम गरियो। केपी ओलीलाई धुलोमा मिलाइदिन्छु। टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरिएको हो।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्