ओली र नेपाल मेरियटमा, जोगिएला एमाले एकता ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ। बुधवार भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि ओली र नेपाल फेरि आज भेटन लागेका हुन् ।

काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा उनीबीच ‘वान टु वान’ कुराकानी भइरहेको छ। उनीहरू बुधबार पनि यही होटलमा दुई घण्टासम्म कुराकानी गरेर फेरि भेट्ने भन्दै उठेका थिए। एमालेमा नेपालले समानान्तर गतिविधि अगाडि बढाइरहेका छन्।

आजको भेटलाई हिजोकै निरन्तरताका रूपमा नेताहरूले अर्थ्याएका छन्। नेता नेपालले फागुन २८ को निर्णय सच्याउन ओलीलाई आग्रह गरेका छन्। तर ओलीले गुटका कुरा नसुन्ने बताइरहेका छन्। बुधवार ओली र नेपालबीच मन माझामाझ भएको थियो। छलफलमा ओली र नेपालले आ-आफ्ना राजनीतिक विषय राखेका थिए। उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको विवादबारे छलफल भएको थियो। एमाले फुटेरभन्दा पनि जुटेर जानुपर्ने ओली र नेपाल दुवै सहमत छन्। तर नेता नेपालले २०७५ जेठ २ गतेअनुसार नै पार्टी चल्नुपर्ने प्रस्ताव ओलीलाई राखेका थिए।

प्रस्ताव राखेर केही समय कुरा गरेपछि अब भोलि २ बजे फेरि बैठक बसौँ भन्दै निस्किए। ‘पार्टीको विवाद मिलाउन हामी पनि तयार छौँ’ नेपाली निकट एक नेताले भने ‘तर ओलीजीहरू पनि तयार हुनुपर्‍यो नि । ओलीले पार्टीमा जे मन लाग्यो त्यही गर्नु भएको छ । पार्टी त विधिअनुसार चल्नुपर्‍यो नि। माओवादी केन्द्रसँग एकता हुनुअघि जेठ २ गते अनुसार ओली चले हामी मिल्छौं।’

उनका अनुसार ओली समूहले एकलौटी रूपमा माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, मणी थापालगायत जे पद दिइएको छ त्यो खारेज हुनुपर्नेलगायत प्रस्ताव नेपालले राखेका छन्। ती नेताका अनुसार बिहीबार (आज) बिहान नेपाल समूहका मुख्य नेताहरूको बैठक बसेको थियो।

बैठकले ओली गलेर जेठ २ कै अवस्थामा पार्टी सञ्चालन गरे मात्रै मिल्ने निष्कर्ष निकालेको उनले बताए। नेता नेपाललाई बैठकमा सहभागीहरूले ओली गलेर बैठकमा प्रस्तुत भए मात्रै मिल्न सुझाव दिएका छन्। नेता नेपाल आफू निकट नेताहरूसँग परामर्श गरेर आज पुनः ओलीलाई भेट्न जादैछन्।

ओलीले एकलौटी रूपमा फागुन २८ गते बैठक बसेर माओवादी केन्द्रबाट आफ्नो समूहमा उभिएका २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेपछि एमालेभित्रको विवाद चर्किएको थियो। त्यसपछि अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले चैत १६ गते नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बनको निर्णय गरेका थिए। नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेर ओलीको कदमविरुद्ध पछि नहट्ने निष्कर्ष निकालेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्