तुलसीपुरमा भारतीय गाडीभित्र ३ बालबालिकाको शव फेला, चालक पक्राउ



दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिएका हुन् ।

कतिपयले ती शवहरु बालकको भएको बताएपनि घटनास्थल पुगेका प्रहरी अधिकारीले भने तीन वटा शव फेला परेको जानकारी मात्रै दिएका छन् । ‘ चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले भने ‘बेलुका ८ बजे तिर म यहाँ आइपुगेका छु घटनाबारे अनुसन्धान हुँदैछ ।’

यता, प्रदेश ५ का प्रमुख डिआईजी रवीन्द्र धानुकले भने तीन जना बालकको शव फेला परेको बताए । उनीहरू सबै ११ वर्ष मुनिको रहेको उनको भनाइ छ । उनले एक जना चालक र दुई जना पक्राउ परेको पनि बताए । उनीहरू नाम भने खुलाइएको छैन । थप अनुसन्धानका लागि बाँकेबाट कुकुर मगाइएको पनि उनले जानकारी दिए ।

घटनाको प्रकृति नियाल्दा गम्भीर प्रकृतिको देखिएको हुदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डिएसपी सिंहले बताए ।

डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताए ।

शनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टाफले गन्ध आएको बताएपछि कार भित्र हेर्दा ती शवहरु देखेको प्रहरी स्रोतले बताएको छ । रातोपाटीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्