भारतबाट आएकाहरू सिधै घरतिर



काठमाडौं, १९ वैशाख । नाकामा होल्डिङ सेन्टर नहुँदा भारतबाट आएका नेपाली सोझै घर पुग्ने गरेका छन् । नेपाल भित्रँदा गरिने एन्टिजेन परीक्षणमा कारोना पुष्टि भए पनि उनीहरूलाई रोकेर राख्ने ठाउँ छैन । जसले गर्दा संक्रमण सहजै समाजमा फैलिने गरेको छ ।

प्रदेश १ सरकारको संकट व्यवस्थापन समितिले सुनसरीको भोक्राहा, मोरङको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर र ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर निर्माण तथा व्यवस्थापनको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिए पनि काम भएको छैन । प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट खर्च व्यहोर्ने गरी जिल्ला संकट व्यवस्थापन समिति मोरङ, झापा, सुनसरी, इलाम र ओखलढुंगालाई होल्डिङ सेन्टर बनाउन निर्देशन दिएको थियो ।

विराटनगरको रानी नाकाबाट दिनमा डेढ सय जनासम्म भारतका विभिन्न राज्यबाट आइरहेका छन् । एन्टिजेन परीक्षण गर्दा तीमध्ये २/४ जनामा कोरोना पुष्टि हुने गरेको छ । रानी नाकाका हेल्थ डेस्क प्रमुख डा. कमलकिशोर यादवले बिहीबारदेखि एन्टिजेन परीक्षणमा पोजिटिभ आएका बाहिर जिल्लाकालाई नोबेल अस्पतालको आइसोलेसन वार्डमा पठाउन थालिएको बताए । ‘भारतबाट आएकाहरू सार्वजनिक यातायातमा घर जाँदा संक्रमणको जोखिम बढाएको छ,’ कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले भने, ‘उनीहरूलाई केही दिन होल्डिङ सेन्टरमा राखेर सुरक्षित रूपमा घर पुर्‍याउने व्यवस्था नभए अवस्था भयावह हुन्छ ।’

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा होल्डिङ सेन्टरका लागि ठाउँ छनोट गर्न नसकेको जनाएको छ । यसअघि डीएभी स्कुलको भवनमा होल्डिङ सेन्टर राखिएको थियो । पछि त्यसबापत दाबी गरेको खर्च नपाएपछि यस पटक उक्त स्कुल आफ्नो भवन प्रयोग गर्न दिन मानेको छैन ।

इलामका प्रजिअ ध्रुवबहादुर खड्काले पशुपतिनगर नाका हुँदै भारतबाट आएकाहरूको संख्या थोरै रहेको र तिनीहरूमा खासै स्वास्थ्य समस्या नरहेकाले सिधै गन्तव्यतर्फ लाग्ने गरेको बताए । प्रदेश सरकारको निर्देशन आएकाले अहिले होल्डिङ सेन्टर राख्न ठाउँ खोजी भइरहेको जानकारी उनले दिए । यस्तै, झापाको नाकास्थित काँकडभिट्टा माध्यमिक विद्यालयमा सेनालाई १ हजार शय्याको होल्डिङ सेन्टर निर्माण गरी सञ्चालनको जिम्मा दिइएको छ । विद्यालयको चौरमा त्रिपाल र टेन्ट राखेर अस्थायी होल्डिङ सेन्टर शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ ।

सुनसरीको भोक्राहास्थित सिम्याक्स फुड्स उद्योगको खाली भवनमा १ सय शय्याको होल्डिङ सेन्टर निर्माण भए पनि प्रदेश सरकारले सञ्चालन अनुमति दिएको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुमति पर्खिरहेको बताए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले होल्डिङ सेन्टर २/४ दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । ‘प्रदेशका १४ वटै जिल्ला अस्पतालमा २० शय्याको कोरोना उपचारका लागि व्यवस्थापन गर्न बजेट पठाउँदैछौं,’ उनले भने ।

प्रदेश २ का पर्सा, बारा र धनुषा कोरोनाको उच्च जोखिममा रहे पनि अहिलेसम्म होल्डिङ सेन्टर बनाइएका छैनन् । प्रदेशका ८ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । पर्साको वीरगन्ज, रौतहटको बारा र सर्लाहीको मलंगवा नाकामा मात्रै नेपाल भित्रिनेको एन्टिजेन परीक्षण गरिन्छ । साताअघि, धनुषाको जटही नाकामा एन्टिजेन परीक्षण गर्ने र त्यहाँ होल्डिङ सेन्टर बनाउने निर्णय भए पनि दुवै काम अझै थालिएको छैन । गत वर्ष महामारीका बेला तेस्रो मुलुकबाट आउनेका लागि जनकपुरको मुजेलियास्थित राजदरबार होटललाई होल्डिङ सेन्टर बनाइएको थियो । मुख्यमन्त्री लालबाबु राउतले होल्डिङ सेन्टर स्थापना गर्न प्रक्रिया अगाडि बढाइने बताएका छन् । कान्तिपुर दैनिकले खबर छापेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्