चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु



वैशाख १९,चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् ।

तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन् ।
गत आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो । हात्ती र गैँडाले तीन/तीन जनालाई आक्रमण गरी मारेको थियो ।

गत वर्ष वन्यजन्तुबाट ३४ जना घाइते भएको उनले जानकारी दिए । त्यसमध्ये गैँडा र बँदेलले १३/१३, मगर गोही र हात्तीले तीन/तीन तथा भालु र अजिङ्गरले एक/एक जनालाई घाइते बनाएको थियो ।

यस कार्यालयले निकुञ्जसहित डिभिजन वन कार्यालय चितवन, धादिङ, नवलपरासी सुस्ता पूर्व र पश्चिम गरी चार जिल्लाका घाइतेको राहतसमेत उपलब्ध गराउँदै आएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार जिल्ला पर्दछन् । ती जिल्लाका १२ पालिकाका ९७ वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । निकुञ्जसँग जोडिएकाले वन्यजन्तु बाहिर निस्कने र स्थानीयवासीलाई दुःख दिने गर्दछन् । मानिसलाई आक्रमणका अतिरिक्त घर पालुवा पशुपन्छी, घर गोठ, बालीनालीसमेत क्षति पुर्याउने गर्दछन् ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भई मृत्यु भएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले रु १० लाख पाउने व्यवस्था छ । अधिकारीका अनुसार घाइतेका हकमा रु दुई लाखसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्