बैङ्कहरूले निषेधाज्ञामा ऋणको किस्ता तिर्न दबाब नदिने



काठमाडाैँ । कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए। उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर ऋण लिएका हुन्छन्। मासिक आम्दानी छ भने खातामा बचत हुन्छ र उनीहरुले त्यहीबाट तिर्नसक्छन् । तर तिर्नै पर्ने ताकेता भन्दा पनि सम्झाउँछौ।’ नियमित आम्दानी हुनेहरूलाई समयमै तिर्न दाहालले अनुरोध गरेका छन्। यद्यपि यो विषयमा बैंकहरुले औपचारिक निर्णय भने गरिसकेका छैनन्।

गत वर्ष नै उच्च प्रभावित, मध्यम प्रभावित र न्युन प्रभावित छुट्याएर राष्ट्र बैङ्कले ऋणीलाई सहुलियत दिएको थियो। यातायात, होटल तथा पर्यटन क्षेत्र जुन उच्च प्रभावित छन तिनीहरुलाई मौद्रिक नीतिमा नै ऋण तिर्न असार मसान्तसम्मको समय दिइएको छ। राष्ट्र बैङ्कका डेपुटी गर्भनर बम बहादुर मिश्र पैसा भए राखिदिएर जरिवाना लाग्ने अवस्थाबाट बच्न आग्रह गर्छन्। उनी भन्छन, हामीले पहिला कोरोनाको समयमै सर्कुलर नै गरेका थियौ। जर्बजस्ती नगर्नु भनेर जारी गरिएको सर्कुलर अहिले पनि लागु हुन्छ। यातायातको साधन निषेधाज्ञाका कारण गुड्न पाएको छैन जसले गर्दा आम्दानी हुन पाएको छैन। यस्तो अवस्थामा राहत दिनका लागि मौद्रिक नीतिले व्यवस्था गरेको छ र सोही व्यवस्थाले अहिले पनि निरन्तरता रहेको डेपुटी गर्भनर मिश्रले बताए ।

अधिकांश बैङ्कहरुको हरेक महिनाको १० तारिखमा ऋणको किस्ता बुझाउनुपर्ने प्रावधान छ। तर, सबै बैङ्कको एउटै समय भने तोकिएको छैन। बैङ्क नै पिच्छे मासिक किस्ता तिर्ने समय फरक हुन सक्छ । पहिलो लहरको कोरोना महामारीको समयमा पनि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको साँवा तथा ब्याज तिर्ने समयावधि थप गरेको थियो। बैङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण लिएपछि साँवा र ब्याजको मासिक किस्ता ईएमआई बुझाउनु पर्छ। बैङ्क तथा वित्तीय संस्थाहरुले ऋणीले लिएको ऋणको ब्याजदर र ऋण लिएको अवधिलाई आधार बनाएर मासिक किस्ता निर्धारण गर्छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्