अब अमेरिकीमा ग्रिन कार्ड आवेदन पेन्डिङ हुनेलाई २ वर्षको वर्क परमिट



अब अमेरिकी सरकारको युएससीआईएसले ग्रिन कार्ड आवेदन पेन्डिङ हुनेलाई २ वर्षको म्यादसहितको वर्क परमिट जारी गर्ने भएको छ । अहिलेसम्म ग्रिन कार्ड आवेदन पेन्डिङ हुनेलाई १ वर्षको म्याद भएको वर्क परमिट जारी गरिँदै आएको थियो भने त्यसपछि म्याद थप्न परेमा आवेदकले आवेदन दिनुपर्ने प्रावधान रहेको थियो ।

यसबारेमा आज युएससी आईएसले नयाँ नीति जारी गरेको छ । अध्यागमन तथा राष्ट्रियता ऐनको सेक्सन २४५ अनुसार स्ट्याटस एडजस्ट अर्थात् ग्रिन कार्ड आवेदन दिनेहरूका सन्दर्भमा वर्क परमिटको म्याद बढाइने भएको हो । अमेरिकामा ग्रिन कार्ड आवेदन दिइसकेपछि वा दिने बेलामा उक्त आवेदनको निर्णय प्रतीक्षा गर्दाको अवधिसम्मका लागि वर्क परमिटको आवेदन दिन सकिने प्रावधान रहेको छ ।

नयाँ नीतिबारे विस्तारमा यहाँ पढ्न सक्नुुहुनेछ ।

युएससी आईएस र आवेदक दुवैको भार कम गर्न र सहजताका लागि नयाँ नीति ल्याइएको युएससी आईएसले जनाएको छ । अहिले अमेरिकामा ग्रिन कार्ड आवेदनबारे निर्णय गर्नका लागि औसतमा एक बर्ष वा त्योभन्दा बढी समय लाग्ने गरेपछि वर्क परमिटको म्याद बढाइएको हो ।

अबदेखि युएससी आईएसले सुरुमा वर्क परमिट जारी गर्दा २ वर्षको गर्नेछ भने त्यसपछि नवीकरण गर्दा पनि २ वर्षको वर्क परमिट जारी गर्नेछ । वर्क परमिट हराएमा वा नष्ट भएमा त्यसको सट्टामा वर्क परमिट अनुरोध गर्दा भने यो नीतिले प्रभाव पार्नेछैन । पुरानो मितिको वर्क परमिटको म्याद जति थियो, त्यही म्यादको वर्क परमिट जारी हुनेछ ।

वर्क परमिटको नवीकरण सामान्यतया अधिकांश श्रेणीको लागि निःशुल्क हुने गर्छ । आर्थिक वर्ष २०२० मा ग्रिन कार्ड आवेदन पेन्डिङ रहेको अवस्थामा वर्क परमिटका लागि झन्डै ३ लाख ७० हजार आवेदन परेका थिए । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्