युद्धका कारण इथियोपियामा भोकमरी, के गरिरहेको छ राष्ट्रसंघ ?



काठमाडौं । संसारको गरिब देश भनेर चिनिने अफ्रिकी मुलुक इथियोपियामा भोकमरी परेको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्क लोककले उत्तरी इथियोपियामा अनिकाल निम्तिएको बताएका हुन् ।

‘यहाँ अहिले अनिकाल छ,’ राष्ट्रसंघको सहयोगमा अवस्थाबारे विश्लेषण गर्दै तथ्याङ्क सार्वजनिक गरिएपछि उनले भने,‘अवस्था निकै खराब हुँदैछ ।’ यस अध्ययनले युद्धको चपेटामा परेको टिग्रेई क्षेत्रका ३ लाख ५० हजार जनता ठूलो संकटमा रहेको देखाएको छ । त्यस्तै अम्हारा र अफरमा पनि यस्तै अवस्था छ ।

सरकारी सेना र विद्रोहीबीचको लडाँइको मारमा टिग्रेई परिरहेको छ र अहिलेसम्म यहाँबाट १७ लाख मानिस बिस्थापित भइसकेका छन् । अनुसन्धान अनुसार यस क्षेत्रमा खाद्यान्नको अति नै संकट छ । भोकमरीकै कारण मानिसहरु ज्यान गुमाउन बाध्य छन् र यो संख्या बढ्ने डर पनि छ । युनिसेफले संकट समाधानका लागि कदम चाल्न पनि अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

इन्टिग्रेटेड फेज अफ क्लासिफिकेसन (आईपिसी) नामको यस अध्ययनलाई इथियोपियाको सरकारले भने सहयोग गरेको छैन, देशमा मानवीय सहयोगको कार्यलाई विस्तार गरिएको उसको दाबी छ । यद्यपी, नागरिकहरुको जवाफ फरक छ । टिग्रेईको पश्चिमतर्फ रहेको क्वाफ्ता हुमेराका जनताले भोकै बस्नुपर्ने अवस्था आइसकेको बताएका छन् । ‘हामीसँग खानका लागि केही छैन,’ एक व्यक्तिले फोनमा भने । आफ्नो अन्नबाली र जनावरहरू सात महिने युद्धका क्रममा लुटिएको उनले गुनासो गरे ।

‘हामी बाँकी रहेको अर्थात् मिलिसियाले नदेख्ने गरी लुकाएर राखेको थोरै अनाज खाँदै थियौं । अहिले हामीसँग केही छैन,’ उनले भने । सबैजना मृत्युको संघारमा पुगिसक्दा पनि अहिलेसम्म कुनै सहयोग नआएको उनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्