मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रवार देखी प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन सक्रियतासँगै ठुला तथा मझौला नदीहरूमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरूमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले शनिवार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ । त्यस्तै लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरूमा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेषण गरिरहेका छन् । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिक रूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ । विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सै घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ । साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्पे्रषण गर्ने गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्