जसपामा एक अर्कालाई गरेको कारबाही खारेज



काठमाडौँ। निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ। आयोगको सो निर्णयसँगै जसपाले एक अर्कालाई गरेको कारबाहीसमेत खारेज भएको छ। आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता तथा आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालसहित बसेको बैठकले सो निर्णय गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तथा जसपा सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुवै पक्षले गरेको कारबाहीलाई आयोगले मान्यता नदिने निर्णय गरेको जानकारी दिए। एक अध्यक्षले अर्कोलाई निकालेको विषय अद्यावधिक गर्न भनिएकोमा हामीले राजनीतिक दलसम्बन्धी ऐनअन्तर्गत नमिल्ने भनेका छौँ,’ प्रवक्ता श्रेष्ठले भने।

यसै गरी, बैठकले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को दफा २५ को उपनियम ६ बमोजिम सो दलको पदाधिकारीको विवरण साबिककै कायम रहने निर्णयसमेत गरेको छ।यसअघि भट्टराई–यादव पक्षले ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो भने ठाकुर–महतो पक्षले यादवलाई निष्कासन गरेको थियो। आयोगको निर्णयसँगै दुवै पक्षले गरेको निष्कासनको निर्णय अवैध भएको हो। राजधानी दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्