अमेरिकालाई सुरक्षित यात्रा सुचीमा राख्ने युरोपियन युनियनकाे निर्णय



युरोपियन युनियनले बुधवार अमेरिकालाई सुरक्षित यात्रा सुचीमा राख्ने निर्णय गरेको छ । जसको अर्थ अब अमेरिकन नागरिकहरूलाई युरोपियन युनियनभित्रका २७ वटा देशमा बिदा मनाउन जानका लागि सहज हुनेछ ।

कोरोनाको महामारीका कारण अमेरिका लगायतका देशबाट अत्यावश्यकबाहेकका यात्रुहरूलाई युरोपियन युनियनभित्रका देशहरूमा यात्रा गर्नका लागि रोक लगाइएको थियो । यसैबिच भ्याक्सिन लगाउने कार्य तीव्र बनिरहँदा ब्रसेल्समा रहेका २७ युरोपियन युनियनका राजदूतहरूले अमेरिका लगायत ८ नयाँ देश र भूभागबाट यात्राका लागि अनुमति दिन सिफारिस गरेका हुन् ।

अमेरिकासहित अन्य देश र भूभागहरूमा हरूमा अल्बानिया, नर्थ म्यासेडोनिया, सर्विया, लेवनान, ताइवान, मकाउ र हङकङ रहेका छन् । गत अप्रिलमा न्युयोर्क टाइम्ससँगको कुराकानीमा युरोपियन युनियनकी कमिशन अध्यक्षले पूर्ण रुपमा भ्याक्सिन लगाएका अमेरिकनहरुलाई आगामी समरमा युरोपको यात्रा गर्न अनुमति दिइने बताएकी थिइन् ।

तर नयाँ सिफारिसमा भने कोरोना परीक्षण नेगेटिभ देखिएका अमेरिकनहरुलाईमात्र युरोपमा यात्रा गर्न अनुमति दिइने उल्लेख छ । निर्देशिकालाई कसरी पालना गर्ने र पर्यटकहरुलाई भित्राउने सन्दर्भमा युरोपियन युनियनभित्रका देशहरुले आफ्नै नियम बनाएर समेत लागु गर्नसक्नेछन् । त्यसैले यात्रा गर्ने व्यक्तिले सम्बन्धित देशको नियम सुनिश्चित गरेरमात्र यात्रा गर्नुपर्छ ।

ग्रिस, इटली, स्पेन लगायतका मुलुकहरुले अमेरिकन यात्रुहरुका लागि पहिलेदेखि नै ढोका खोलिसकेका छन् । भ्याक्सिन लगाएको रिपोर्ट, नेगेटिभ कोरोना परीक्षणको रिपोर्ट वा दुबै रिपोर्टसहित अमेरिकनहरु यी देशहरुको यात्रा गर्न सक्छन् । यद्यपी अमेरिकाले भने युरोपियन युनियनभित्रका देशमा हालै भ्रमण गरेका अधिकांश गैर नागरिकहरूलाई अमेरिकाको भ्रमण गर्नमा रोक लगाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्