चोरी आरोपमा कुटाइ खाएकी दलित गर्भवती महिलाले गुमाइन् मानसिक सन्तुलन



मोबाइलको सिम चोरी गरेको झुटो आरोपमा छिमेकीले कुटपिट गर्दा एक गर्भवती दलित महिलाले मानसिक सन्तुलन गुमाएकी छन् । मोरङको कानेपोखरी गाउँपालिका ५ चिसाङ बस्तीकी  देवीका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा  तीन महिनाको गर्भवती २५ वर्षीय शोभादर्जीले मानसिक सन्तुलन गुमाएकी हुन् । कुटपिटपछि कडा खाले मानसिक रोगी बनेकी शोभाको हाल सुनसरीको धरान स्थित बिपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ । 

छिमेकीको मरणासन्न कुटपिटबाट मानसिक सन्तुलन गुमाउन पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावमा घरमै बाँधेर राख्ने र उपचारका लागि धामी झाँक्री लगाउने गरेको थियो । तर, औषधी सेवन गर्नुपर्ने दिमागी रोग भएकोले धाम झाँक्रीले उनको रोग निको पार्न सकेनन् । 

रोग बल्झिँदै गएपछि उनी झन् बिरामी भइन् । मानसिक रोगी शोभाले दिन प्रतिदिन छिमेकी मगर परिवारलाई जथाभाबी गालीगलौज गर्दै हिँड्न थालिन्  ।  गाउँलेहरूले बौलाइले गाउँमा दुःख दिन थालेको भन्दै उल्टो आरोप लगाउन थालेपछि परिवारले उनलाई बाँधेर राख्न थाल्यो । तर पनि उनको व्यवहारमा सुधार नभएपछि वडा अध्यक्षको सहयोगमा उनलाई उपचारका लागि १० दिन अघि अस्पताल भर्ना गरिएको बुबा हर्कबहादुर दर्जीले बताए । 

अस्पताल भर्ना भएर उपचार गराइरहेकी शोभाको स्वास्थ्यमा अझै सुधार आई नसकेको र उनी तीन महिनाको गर्भवती समेत रहेको चिकित्सकहरूले जानकारी दिएको श्रीमान् उमेश तामाङले बताए । श्रीमान् उमेशका अनुसार गर्भवती भएकोले रोगको हिस्ट्री पत्ता लगाउन चिकित्सकहरूले शोभाको सिटी स्क्यान गराउन सकेका छैनन् । 

उमेश तामाङसँग अन्तर्जातीय विवाह गरेकी शोभाको ७ वर्षीय एक छोरी छन् । उनीहरू पनि नजिकै रहेको चिसाङ खोलामागिट्टी कुटेर जिविको पार्जन गर्ने गर्दथे । 
गणेश लम्सालले लेखेको यो समचार नँया पत्रिकाबाट जस्ताको तेस्तै साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्