विपद् जोखिम न्युनीकरणमा सरकारले विशेष ध्यान पुर्‍याओस् : राष्ट्रपति भण्डारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनः स्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने  बताउनुभएको छ ।

मनसुनको सुरुआतसँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे शुक्रवार साँझ गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो ।

विकासका लागि भौतिक संरचना निर्माण गर्दा भूकम्प, बाढी, पहिरो, चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । यस सन्दर्भमा गृह मन्त्रालयलाई सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समन्वय गरी कार्य गर्न उहाँले सुझाव दिनुभयो । विपद्को समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाइमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि राष्ट्रपतिले उल्लेख गर्नुभयो ।

गृहमन्त्री खगराज अधिकारी‚ गृह सचिव महेश्वर न्यौपाने तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपति भण्डारी समक्ष शुक्रवार साँझ मनसुनजन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति‚ प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्वारा सञ्चालन गरिएका राहत एवं पुनर्स्थापनाका कामहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त अवसरमा प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयद्वारा विपद् बिमा लागू गर्ने निर्णय लिइएको, नेपाली सेनाको नेतृत्वमा द्रुत हवाई उद्धार भइरहेको, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका निकायको समन्वयमा राहत र उद्धारका कार्य सबै प्रदेशमा सञ्चालन गरिएको जानकारी गराइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्