धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता



वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैङ्क धाउँछन् । यी व्यापारी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरूले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी गर्नेहरूले पनि लिँदै आएका छन् ।

राज्यका तर्फबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि निजी क्षेत्रबाट हुने करोडौँ आम्दानीलाई भने नियमले छोएको छैन । निवृत्तिभरण बुझ्नेले यस्तो सुविधा नपाउने भए पनि निजी क्षेत्रमा व्यापार व्यवसाय गर्ने धनाढ्यहरूलाई भत्ता लिन कानुनी अड्चन छैन ।

भरतपुर महानगरपालिकाको मुख्य बजार नारायणगढ क्षेत्रमा पर्ने वडा नं ३ का अध्यक्ष चन्द्र मित्र पण्डितले भने, जति नै धनी भए पनि सामाजिक सुरक्षा भत्ता लिन्न भन्ने कोही छैन । बच्चा लिएर एक व्यापारी मर्सिडिज कारमा आफ्नो कार्यालयमा छोराको पोषण भत्ता लिन आएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “हामीलाई सामाजिक सुरक्षा भत्ता चाहिँदैन भनेर उदारता देखाउने भेट्नै मुस्किल छ ।

नारायणगढमै पर्ने वडा नं १ का सचिव मधुराम दुवाडी राज्यले सामाजिक सुरक्षा भत्ता शीर्षकमा दिएको सुविधा नारायणगढकी समाजसेवी मैयाँदेवी श्रेष्ठ र महेश्वरलाल श्रेष्ठबाहेक आफ्ना वडाका कसैले लिन्न नभनेको बताउँछन् । उनले भने, “महेश्वरलालले लिन्न भन्नुहुन्थ्यो, उहाँ बितेर जानुभयो, मैयाँदेवीले म लिन्न नहुनेलाई दिनुपर्छ भन्नुहुन्छ ।

जिल्लामा अधिकांश सरकारी कार्यालय रहेको सम्पन्न क्षेत्रका रूपमा परिचित महानगरको वडा नं १० का अध्यक्ष अरुण पीडित भण्डारीले सबैले सामाजिक सुरक्षा भत्ता लिने गरेको बताए ।  उनले भने, निवृत्तिभरण पाउनेले सामाजिक सुरक्षा भत्ता पाउँदैनन्, अरूले म लिन्न भनेर कसैले भन्न आएका छैनन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतम आफूले चिने जानेका र परिवारका सदस्यलाई सामाजिक सुरक्षा भत्ता नलिन अनुरोध गर्दै आएको बताउँछन् । उनले भने, सम्पन्नहरूले राज्यबाट प्राप्त हुने यस्ता सुविधा लिनु उचित हुँदैन । राष्ट्र बैंकमार्फत् दिइने ब्याजको सहुलियत रकमसमेत सक्नेले लिन नहुने तर्क राख्दै उनले भने, “जसले सक्दैन, त्यसलाई सहयोग गर्नुपर्छ ।

यस्तै दलित ज्येष्ठ नागरिकले ६० वर्ष कटेपछि मासिक दुई हजार पाउँछन् । एकल महिलाले दुई हजार, दलित बालबालिकाले पोषण भत्ताबापत ४०० र पूर्ण अपाङ्गता भएकाहरूले दुई हजार एवं आंशिक अपाङ्गताका लागि एक हजार ६०० मासिक भत्ता पाउँछन् । यी भत्तामा आगामी साउन १ गतेदेखि ३३ प्रतिशतले वृद्धि हुँदै छ ।

भरतपुर महानगरपालिकाको सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रम हेर्ने तुलसीप्रसाद श्रेष्ठका अनुसार राज्यले ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई मासिक तीन हजार दिँदै आएको छ । यो रकम आगामी साउन १ गतेदेखि रु चार हजार हुँदै छ ।

भरतपुर महानगरमा मात्रै वार्षिक ६९ करोड हाराहारी सामाजिक सुरक्षा भत्ता वितरण हुने उनले जानकारी दिए । उनका अनुसार भत्ता लिन नचाहनेहरूले पालिकामा स्वयं घोषणा गरेमा उनीहरूलाई पुरस्कृत र सम्मान गरेर सार्वजनिक गर्ने व्यवस्थासमेत रहेको छ । यद्यपि हालसम्म महानगरमा स्वयं घोषणा गर्न कोही नआएको उनले बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र भट्टराईका अनुसार जिल्लाका सात पालिकामार्फत वार्षिक एक अर्ब ४८ करोड ४७ लाख निकासा हुँदै आएको छ । यो रकम आगामी आर्थिक वर्षमा ३३ प्रतिशतभन्दा बढीले थपिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्